
गलकोट नगरपालिका–७ मल्मका अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई महिला जागरण केन्द्र मल्मले ५ हजार सहयोग गरेको छ । अग्निपीडित खड्का परिवार लाई सहयोग पुगोस भनेर सहयोग उपलब्ध गराएको महिला जागरण केन्द्रकी अध्यक्ष ललिता थापाले नयाँ विश्वलाई बताइन ।
महिला जागरण केन्द्रे मल्म महिलाहरुको नेतृत्व विकास र सामाजिक सेवामा क्रियासिल छ ।खड्का परिवारलाई लायन्स क्लव अफ् धवलागिरि र बागलुङ रेडक्रसले पनि सहयोग गरेको छ ।क्लवले नगद रु पाँच हजार र रेडक्रसले भाँडाकुँडा, कम्मल, पाललगायत सामग्री उपलब्ध गराएको हो ।
सो अवसरमा रेडक्रस जिल्ला सभापति जब्बरबहादुर लामिछानेले व्यक्तिगत रुपमा रु। दुई हजार सहयोग गर्नुभएको थियो ।क्लवका पूर्वअध्यक्ष एवं समाजसेवी देवबहादुर श्रेष्ठ र रेडक्रस जिल्ला सभापति लामिछानेले महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापा र गलकोट समाज बागलुङका अध्यक्ष राज थापामार्फत् सहयोग हस्तान्तरण गर्नुभएको हो ।
नगदसहित राहत सामग्री आजै पीडित परिवारकोमा पु¥याइने केन्द्रकी अध्यक्ष थापाले बताउनुभयो । अग्नीपीडित परिवारको जीवनयापन सहज बनाउन सहयोग गरिएको क्लवका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।“खाद्यन्नलगायत अत्यावश्यक सामानको जोहोका लागि नगद सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।
रेडक्रस सभापति लामिछानेले मानवीय सेवामा रेडक्रस सदा अग्रसर रहने धारणा राख्नुभयो । रेडक्रसले विपद्मा परेका व्यक्ति र परिवारलाई राहत दिँदै आएको छ ।यसअघि अग्निपीडित उक्त परिवारलाई मल्मस्थित घुम्टे युवा परिवारको पहलमा खाद्यन्नलगायत राहत सामग्री प्रदान गरिएको थियो ।
परिवारको जापानस्थित शाखाका सहसचित तुलवीर थापाको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराइएको हो ।आइतबार दिउँसो भएको आगलागीले खड्काको घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
खाद्यन्न, लत्ताकपडालगायत सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ । वडाध्यक्ष टीकाबहादुर थापाका अनुसार आगलागीबाट झण्डै २० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रशासन कार्यालयले दिने राहतका लागि प्रकृया अघि बढाइएको वडाध्यक्ष थापाको भनाइ छ ।