१ जेष्ठ २०८२, बिहीबार

 

‘कोरोनासँगै अफवाह पनि रोकौं’

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना संक्रमणसँगै अफवाह पनि तीव्र फैलिने जोखिम रहेकाले दुवैलाई रोक्न पत्रकारले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् ।

कोरोना संकटमा जिल्लाका पत्रकार तथा सञ्चारमाध्यमलाई परेको समस्याबारे जानकारी लिन जिल्ला भ्रमणममा रहेका उनले बिहीबार महासंघ बागलुङको सभाहलमा पत्रकारको भूमिका अझै जरुरी रहेको धारणा राखे ।

‘यस्तो बेलामा जति संक्रमण फैलन्छ, त्यति धेरै अफवाह फैलिन्छ’, उनले भने, ‘पत्रकारले फैलिँदो संक्रमण र अफवाह दुवै रोक्न सशक्त भूमिका खेल्न सक्छ, समाज र देशले अहिले त्यही भूमिका खोजिरहेको छ, हामी त्यसमै केन्द्रित भएर लागौं ।’

कोरोना संकटका कारण मिडिया र मिडियाकर्मी जटिल मोडमा पुग्ने अवस्थाप्रति सबै सचेत भएर अघि बढ्नुपर्ने खाँचो औल्याउँदै उनले महासंघले केन्द्र सरकारसँग राहत प्याकेज ल्याउन ध्यानाकर्षण गराएको बताए ।प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोना संकट पत्रकारितालाई थप सच्याउने महत्त्वपूर्ण अवसर भएको बताए ।

‘अहिले एउटा अनलाइन, युट्युब चलाएर आफैं प्रेस कार्ड छापेर पत्रकार बन्ने र भन्ने प्रवृत्ति व्याप्त छ,’ श्रेष्ठले भने, ‘अहिले फेसबुक, युट्युब चलाउनेहरूका कारण पत्रकार र पत्रकारिता बदनाम हुने अवस्था आएको छ, तर सबैले बुझ्नुपर्छ युट्युब, फेसबुक माध्यम मात्र हो, मिडिया होइन । यसमा काम गर्ने पत्रकार होइनन् ।

’कोरोना अवधिमै अफवाह फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने १५० सञ्चार माध्यमलाई सचेत गराइएको र ८० वटा अनलाइन बन्द गराइएको उनले जानकारी दिए ।

युट्युबले सञ्चारमाध्यमका रूपमा मान्यता नपाएको उल्लेख गर्दै श्रेष्ठले यसको नियमनका लागि छिट्टै कानुन बन्ने क्रममा रहेको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले विज्ञापन बजार ठप्प हुँदा पत्रकार र सञ्चारमाध्यमलाई कसरी जोगाउने भन्ने सन्दर्भमा अब राज्य, मिडिया सञ्चालक र मिडियाकर्मीले छलफल चलाउन जरुरी रहेको बताए ।कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाका पत्रकार र पत्रकारिताको अवस्थाबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung