६ श्रावण २०८३, बुधबार

 

बागलुङ बजारमा खुल्यो सस्तो मूल्यको तरकारी बजार

किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न बागलुङमा हाट बजार सुरु गरिएको छ । बागलुङ नगरपालिकाको सहयोग र जिल्ला कृषि सहकारी संघको पहलमा बागलुङ नगरपालिका—३ गुठी क्षेत्री समाजको भवन पछाडि मंगलबार देखि हाट बजार सुरु गरिएको हो ।

हाट बजारमा किसानले आफुले उत्पादन गरेका वस्तुको उचित मूल्यमा प्रत्यक्ष उपभोक्तालाई विक्री वितरण गर्न पाउनेछन् । विचौलियाका कारण किसान र उपभोक्ता दुबै मारमा परेकाले हाट बजारले कृषक उपोक्ता दुबैलाई फाईदा पुग्ने जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापाले बताए ।

‘किसानले आफुले उत्पादन गरेका वस्तुको राम्रो बजार मूल्य नपाउने र उपभोक्ताले पनि अनावश्यक चर्को मूल्य तिरेर उपभोग गर्नुपर्ने समस्या हटाउनका लागि हाट बजारको अवधारणा अगाडी बढेको हो,’ थापाले भने,‘हामी कृषक दाजुभाई दिदी बहिनीसंग छलफल गर्दै यसलाई थप व्यवस्थीत गर्दै लैजान्छौं ।’

अगुवा कृषक गंगा थापाले हाट बजारले गर्दा किसानले अलि बढि मूल्य पाउने र उपभोक्ताले अलि कम मूल्यमा उपभोग्य वस्तु पाउने बताए । ‘बीचमा खेल्ने विचौलियाहरुले धेरै नाफा खाँदा बजारमा भाउ महंगो हुने र किसानले साह्रै सस्तोमा आफ्नो कृषि उपज दिनुपर्ने बाध्यता थियो,’ थापाले भने,‘अब किसानले राम्रो मूल्य पाउनेछन् भने उपभोक्ताले सस्तो मूल्यमा ताजा वस्तु पाउनेछन् ।’

हाट बजार सञ्चालनका लागि आफुहरुले धेरै लामो समय देखि प्रयास गर्दै आए पनि अहिले आएर लक्ष्य पूरा भएको उनको भनाई छ ।‘हामीले धेरै पहिलेबाट कोसिस गरेका थियौं, पहिले नै हुनुपथ्र्यो,’ उनले भने,‘ढिलै भए पनि राम्रो भएको छ ।’

विचौलिया बिना सिधैं किसानले उपभोक्तासंग विक्री गर्दा बजार तरकारीको मूल्य भन्दा आधा सस्तो हुने उनको भनाई छ । ‘यो बजार चल्ने नचल्ने भन्ने उपभोक्ताको हातमा हुन्छ, ताजा तरकारी सस्तो मूल्यमा पाईन्छ भनेर उपभोक्ताहरु यहाँ आउने र किसानहरु पनि केही समय बढि लागे पनि दुई पैसा बढि पाईन्छ भन्ने हिसाबले निरन्तरता दिनुभयो यो राम्रो हुन्छ,’ उनले भने,‘बीचमा खाने मान्छे भएन पनि मूल्य आधा जस्तो फरक पर्न जान्छ ।’ लक डाउकै बीच मंगलबार हाट बजारको सुरुवात गरिएको छ ।

हाट बजारको संस्कार बसाल्नका लागि बागलुङ नगरपालिका र कृषि सहकारी संघ बागलुङले सुरुवात गरेको बागलुङ नगरप्रमुख जनक पौडेलले बताए ।

‘हाट बजार भन्न वित्तीकै स्वतः स्फुर्त रुपमा किसानहरु आफ्नो कृषि उपज लिएर आउँछन् र ग्राहकहरु पनि आउँछन्,’ उनले भने,‘ग्राहक र किसानबीच प्रत्यक्ष सम्बन्ध कायम हुने र दुबैलाई फाईदा हुने माध्यम हो ।

यसको संस्कार बागलुङमा नभएकाले सुरुवातका लागि हामीले कृषि सहकारी संघसंग मिलेर व्यवस्थापन मिलाएका हौं ।’ हाट बजारको संरचना तयार गर्न नगरपालिकाले ८ लाख र कृषि सहकारीले एक लाख ६२ हजार खर्च गरेका छन् ।

‘हामीले दुई वर्षको गरी ८ लाख रुपैयाँ र कृषि सहकारी संघले एक लाख ६२ हजार खर्च गरेका छौं,’ उनले भने,‘वार्षिक तीन लाख रुपैयाँ जति जग्गाको भाडा पर्छ ।’ हाट बजारमा सामान विक्री गर्न आउने किसानलाई कुनै शुल्क नलाग्ने समेत उनले बताए । ‘हामीले किसानसंग कुनै शुल्क लिदैनौं, उहाँहरु आउनुहुन्छ, आफ्नो सामान विक्री गर्नुहुन्छ जानुहुन्छ,’ उनले थपे । हाट बजार साताको दुई दिन मंगलबार र शनिबार सञ्चालनमा आउनेछ ।

हाट बजार सुरु भएपछि किसान र उपभोक्ता दुबै खुसी छन् । बागलुङ नगरपालिका—३ की मञ्जु शर्माले आफुले निर्धारण गरेको मूल्यमा सामान विक्री गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

‘डोकोमा तरकारी बोकेर आयोजन पसलवालाले आज यही छ राख्दैनौं भन्थे, कतिले राखिहाले पनि उनीहरुले भनेको मूल्यमा दिनुपथ्र्यो,’ उनले भनिन्,‘यहाँ त आफ्नो दुःख गरेको मूल्य उठ्नेगरी सिधै आफै बेच्न पाईएको छ ।

खुसी लागेको छ ।’ १८ वर्ष मलेसियमा बिताएर आएका बानपा—४ टेकबहादुर विक पनि आफुले उत्पादन गरेको वस्तुले उचित बजार मूल्य पाउने अवस्था देखिएपछि खुशी छन् ।

‘बारीमा किन्न जाने होलसेलवालाले निकै थोरै मूल्य दिएर लैजान्थ्यो,’ उनले भने,‘यहाँ ल्याएपछि लगानीबाट केही पैसा आम्दानी पनि हुने अवस्था देखिएको छ ।’

उपभोक्ता मञ्च बागलुङका अध्यक्षले हाट बजारले उपभोक्ता र किसान दुबै पक्षलाई फाईदा हुने बताउँछन् । सस्तो मूल्यमा तरकारी गरिद गर्न पाएपछि उपभोक्ता पनि दंग छन् । ‘बाहिर पसलमा किन्दा एक सय रुपैयाँमा एक किलो टमाटर आउथ्यो, यहाँ आएपछि ६० रुपैयाँ किलो पाईयो,’ हुमादेवी खड्काले भनिन् ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष हाट बजार सुरु हुनु सुखद पक्ष भए पनि यसको निरन्तरता हुनु जरुरी रहेको बताए ।

‘उपभोक्ता र किसानको सिधै सम्पर्क हुन निकै सस्तो मूल्यमा उपभोक्ताले सामान पाउने र किसानले पनि आफ्नो उत्पादनको मूल्य पाउने अवस्था भएको छ,’ उनले भने,‘यसको निरन्तरताका लागि सरोकारवाला चनाखो हुनुपर्छ । यस भित्र पनि विचौलियाको चलखेल भएर फेरि बन्द हुने अवस्था आयो भने समस्या हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung