
विमल खड्का,बडिगाड
बडिगाड गाउँपालिका–६ का वीरबहादुर खत्री आफ्नो बारीको काँक्रो बोकेर बुर्तिबाङ बजार गए । बेच्नका लागि बुर्तिबाङ पु¥याएको एक गाडी काँक्रोमा प्रहरी तगारो बन्यो । रोइकराइ गर्दागर्दै बल्लतल्ल बजार पुर्याएको काँक्रो लकडाउन भन्दै प्रहरीले बजारबाट फर्काइदियो ।
‘बाटोमा पुलिसले लखेट्ला भन्ने डर त छँदै थियो, उता रोग पो सल्किने हो कि भन्ने पनि डर पनि । डरैडरमा बुर्तिबाङ त पुगियो तर बजार बन्द छ भन्दै प्रहरीले गाडी नै फर्काइदियो,’ उनले भने ।
फर्काएको काँक्रो तीन दिनपछि हेर्दा त पहेँलपुर भइसकेको थियो । ‘आलु भएको भए, अरुथोक जस्तो भए त भकारी हालेर राख्नुहुथ्यो । पानी भएको जात, थुपारी राख्न पनि नमिल्ने । फाल्दियौं ।’ अघिल्लो वर्षेनी १०० क्विन्टल बेचेको, अहिले सखापै भयो,’ उनले भने ।
बर्सेनि ५ लाखसम्म कमाउने गरेका खत्री अहिले १० हजारमा झरेका छन् ।
सिंगापुर लैजाने भनी करिब ८ लाख दलालले खाइदिएपछि २०५५ सालदेखि कृषि कर्ममा लागेका खत्री यस वर्ष तरकारीजन्य वस्तुले बजार नपाउँदा मर्कामा छन् ।
कृषिकर्मबाटै ८ जनाको परिवार धानेका उनलाई लकडाउनले क्षति पु¥याएको छ । अहिले उनको कृषि फर्ममा कुखुरा, माहुरी, बाख्रा, प्याज, बन्दा, सिमी र काँक्रो छन् ।
किसानले उत्पादन गरेका वस्तुको मूल्य तोकिदिने र नबिके राज्यले जिम्मा लिने भने पनि त्यसको कार्यान्वयन नहुँदा खत्रीजस्ता किसान अहिले मर्कामा छन् ।