१५ बैशाख २०८१, शनिबार

 

राष्ट्रियताका सबालमा दलहरूको अभूतपूर्व एकता

प्रतिनिधिसभाले शनिबार अभूतपूर्व दलीय एकता देखाउँदै लिम्पियाधुरासहितको भूमि समेटिएको नेपालको नयाँ नक्सा सर्वसम्मतिले पारित गरेको छ ।

सरकारको कार्यक्षमताप्रति नै प्रश्न उठाउँदै जनमत सडकमा उर्लिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली यो उपलब्धिसँगै आफ्नो घट्दो लोकप्रियताको ग्राफ उकाल्न सफल भएका छन् ।

इतिहासमा शासकलाई यस्ता अवसर विरलै आउँछन् । सन् १९७६ मा श्रीलंकाका प्रधानमन्त्री श्रीमाओ भण्डारा नायकेलाई पनि यस्तै अवसर प्राप्त भएको थियो । उनी भारतसँगको विवादित तमिलनाडुनजिकको काछाथिपु टापु सहमतिमा फिर्ता गराएर आफ्ना विरुद्धको जनआक्रोश मत्थर गराउन सफल भएका थिए ।

सरकारले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गराएको छ । यो एकता कायम राखिरहने जिम्मेवारी सरकारकै हो । त्यसो त संविधान जारी भइरहँदा पनि यस्तो एकता कायम हुन सकेको थिएन ।

यति वेला नेपालको अस्मितामाथि आएको संकटलाई सबै दलले मनन गरेर त्यसको सामना गर्न अभूतपूर्व रूपमा एक भएर देखाएका छन् । सरकारको प्रस्तावलाई समर्थन गरेर संसदीय राजनीतिमा सकारात्मक इतिहास रच्न दलहरू सफल भएका छन् । भारतको पक्षपोषणको आरोप लाग्दै आएका मधेसवादी दलले समेत सरकारको प्रस्तावका पक्षमा मत दिएर राष्ट्रिय एकतालाई आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

प्रधानमन्त्री ओलीले यो ऐतिहासिक सफलताको जिम्मेवारीलाई आफ्नो मात्र नभनेर संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई धन्यवाद दिन सक्नुपर्छ । अब भूमि फिर्ता ल्याउन भारतसँग वार्ता अघि बढाउन आवश्यक छ ।

वार्ताका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधत्व हुने गरी साझा टोली बनाएर संविधान संशोधन र भूमि फिर्ता भएको जस अरू दललाई पनि दिलाउन सक्नुपर्छ ।

इतिहासमा विरलै मात्र आउने यस्तो अवसरलाई राष्टि«य एकतामा परिणत गराउँदै देश विकासमा परिचालन गर्न सकिए मात्र नागरिकले देशमा जिम्मेवार सरकार बनेको अनुभूति गर्न पाउनेछन् ।

छिमेकी भारतले पनि नेपालको राष्ट्रिय अस्मिताका सवालमा सबै दल एक हुन्छन् भन्ने अनुभूति गर्न सक्नेछ । अन्यथा, यो एकता राजनीतिक दलका लागि आफ्नो कमी–कमजोरी लुकाउने बहाना मात्र साबित हुनेछ ।

निर्वाचनका बेला एकअर्कालाई आरोप लगाउँदै आफूमात्र देशभक्त सच्चा राष्ट्रवादी दल भएको दाबी गर्ने नाराभन्दा बढ्ता हुनेछैन । ओलीले आफ्नो कार्यशैली परिवर्तन गरेर यो एकतालाई आफ्नो कार्यकालभरि कायम राख्न सके सफल प्रधानमन्त्री साबित हुनेछन् । कामना गरौं यो सर्वसम्मतिले नेपालमा विकास र राष्ट्रिय मेलमिलापको युग सुरुवात गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्