उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्मा पेस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य मन्त्रिपरिषद्मा पेस गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष ०७७,७८ का लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य राखिएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको हो ।
कृषिले आव ०७६,७७ को तुलनामा आगामी आर्थिक वर्षलाई मोटा धान प्रतिक्विन्टल २ सय ३ र मध्यम धान २ सय १२ रुपैयाँ बढाएर मूल्य प्रस्ताव गरेको हो । आव ०७६,७७ मा मोटा धानको समर्थन मूल्य २५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ तोकिएको थियो
यसअघि असारे धान बाली भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो । चालू आर्थिक वर्षमा कात्तिक ५ गते सरकारले धानको समर्थन मूल्य तोकेको थियो । समर्थन मूल्य तोकेपछि सरकारले तोकेजति मूल्यमा नबिकेको धान कृषकबाट खरिद गर्नुपर्छ ।













































































































































































































