
बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएर भण्डारणमा रहेको दुध बिग्रिने अवस्था आएपछि दुग्ध विकास संस्थान डिडिसीले धुलो दूधको मूल्य घटाएको छ । डिडिसीले प्रतिकिलो १० रुपैयाँ घटाएको जानकारी गराएको छ ।
यही असार ३ गतेदेखि डिडिसीले धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ । त्यसैगरी घ्युमा प्रतिलिटर २० रुपैयाँ नौनीमा ८० रुपैयाँ छुट दिएको गराएको छ ।
डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा छुट हुनेछ ।
१२ प्रतिशतले खपतमा कमी
बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक रुद्र प्रसाद पौडेलले जानकारी गराएका छन् ।
डिडिसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ ।
बन्दाबन्दीअघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ । बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामो अहिले प्रतिदिन ७६ हजार लिटर बिक्री हुने गरेको छ । दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको डिडिसीले जानकारी गराएको छ ।