
तातोपानी भन्सार नाकाबाट तीन महिनापछि चार कन्टेनर तयारी पोसाक भित्रिएको छ। भन्सारका अनुसार लकडाउन सुरु भएयता उक्त नाका भएर चीनबाट तयारी पोसाक आयात भएको यो पहिलोपटक हो ।
यसअघि स्वास्थ्य सामग्री मात्रै भित्रिने गरेको थियो। ‘तीन दिनअघि मात्र भित्रिएको हो। चार कन्टेनर सामान काठमाडौं पठाइएको छ,’ तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले भने, ‘अब बिस्तारै नाका सहज हुँदै छ।’
असार १ बाट लकडाउन खुकुलो पारिएपछि काठमाडौं उपत्यकामा बजार–पसल खुलेका छन्। बजारको मागअनुसार अत्यावश्यक वस्तु आयात गर्न मिल्ने भएपछि तयारी सामान भन्सार नाकाबाट भित्र्याउन दिइएको हो।
शुक्रबारदेखि तातोपानी नाका भएर चिनियाँ कन्टेनर भित्रिने संख्या बढ्न सक्ने प्रमुख खत्रीले बताए । भन्सारको बिहीबारको बैठकले राति मालवस्तुका कन्टेनर काठमाडौं नपठाउने निर्णय गरेको छ। वर्षासँगै पहिरोले विभिन्न स्थानमा सडक जोखिमपूर्ण हुने भएकाले यस्तो सहमति बनेको खत्रीले जानकारी दिए।
‘बेलुकी ७ बजेपछि कन्टेनर भन्सार परिसरमै राख्नुपर्छ,’ उनले भने, ‘बर्खाको समय भएकाले राति जोखिम मोलेर सामान नपठाउने निर्णय भएको छ।’ गत सातासम्म भन्सार नाकाबाट मास्क बनाउने उपकरण, कृषि औजार र गार्मेन्टका कच्चा पदार्थ आउन थालेको थियो । तीन महिनायता तातोपानी नाका भएर नेपाल भित्रिएका सामानमा स्वास्थ्यसम्बन्धी नै सर्वाधिक छन्।
चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएयता नै केरुङ र तातोपानी नाकाबाट आयात–निर्यात प्रभावित थियो। ६ महिनाअघि व्यवसायीले अर्डर गरेका मालवस्तुका कन्टेनर चिनियाँ नाकामा रोकिएका थिए।
ढुवानी लागतमा तातोपानीभन्दा सस्तो पर्ने भएकाले व्यवसायीले केरुङ नाकाबाट धेरै मालसामान भित्र्याउँछन्। केही दिनयता अविरल वर्षाले पहिरो जान थालेपछि कन्टेनर बाटोमै रोकिएका थिए ।
साँघुरो बाटो हुनाले छिटै जाम हुने सम्भावना रहन्छ। त्यसैले तातोपानी भन्सारले सामान बोकेका कन्टेनर दिउँसो मात्रै काठमाडौं जान दिने निर्णय गरेको हो।