२ जेष्ठ २०८२, शुक्रबार

 

देवदहमा कृषकलाई अनुदानदेखि औद्योगिक ग्रामसम्मका योजना

रुपन्देहीको देवदह नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । नगरप्रमुख हिराबहादुर खत्रीले सातौं नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा सदस्यहरूले सर्वसम्मति जनाएका हुन् ।

नगरले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र पूर्वाधारलाई मुख्य प्राथमिकतामाराखेको छ । नगरका कृषियोग्य भूमिमा सञ्चालित पकेटक्षेत्रमा कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख छ ।

यसका लागि बिउ, मल, प्रविधि, सिँचाइ, उपकरण, बिरुवा आदिमा कृषकलाई अनुदान सहयोग उपलब्ध गराइने जनाइएको छ । नीति–कार्यक्रमअनुसार ‘मेयर संग उद्यम एवं स्वरोजगार कार्यक्रम’ अन्तर्गत नगरक्षेत्रका युवामा भएको ज्ञान सीप र क्षमताको सदुपयोग गर्दै उद्यमशीलता तथा सीपको विकास गरिनेछ ।

दलित तथा अल्पसंख्यक समुदायको परम्परागत सीप र पेसालाई उद्यमशीलतासँग जोडी आत्मनिर्भर बनाउन आवश्यक लगानी व्यवस्थाका लागि बिनाधितो सहुलियत कर्जा कार्यक्रम अगाडि बढाइनेछ । वडा नं ३ को टटेरामा अवस्थित जग्गामा विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको र त्यहाँ औद्योगिक ग्राम स्थापना गरिने नगरले जनाएको छ ।

लुम्बिनी विकास कोषसँगको सहकार्यमा नगरभित्रका पुरातात्त्विक क्षेत्रको सर्भे गरी उत्खनन कार्य प्रारम्भ गरिने उल्लेख छ । त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरभित्रका स्वास्थ्य संस्थालाई व्यवस्थित गरिने, देवदह नगरपालिकालाई पूर्ण संस्थागत प्रसूतिसेवा रहेको नगर बनाउने योजना अघि सारिएको छ । औषधि आपूर्ति तथा भण्डार व्यवस्थापनमा विशेष प्राथमिकता दिइनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल उच्च राख्न दुर्घटना बिमालाई निरन्तरता दिइने, ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका बिरामीका लागि विभिन्न औषधि निःशुल्क उपलब्ध गराउने, ८० वर्षभन्दा माथिका नागरिकका लागि स्वास्थ्यकर्मीद्वारा घरदैलो स्वास्थ्य जाँच तथा आधारभूत उपचार कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

त्यस्तै देवदह अस्पताल निर्माण नहुँदासम्म १ जना चिकित्सकद्वारा नगरभरिका स्वास्थ्य चौकीमा आलोपालो सेवा प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलबाट कार्यक्रमको उद्देशमाथी प्रकाश रहेको सातौं नगर सभामा नगर प्रमुख हिरा बहादुर खत्रीबाट प्रस्तुत नीति तथा कार्यक्रमको संचालन प्रशासकिय अधिकृत गंगा पन्थीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung