
नेकपाका भित्रको शक्ती संर्घषको धक्का संसद सम्म पुगेको छ । आकस्मिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गराएपछि राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ ।
नेकपामा शक्ती संर्घषका कारण संसद बन्धक हुन पुगेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद अधिवेशन आजै बेलुकी ५ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले अधिवेशन अन्त्य गरेकी छन् । प्रधानमन्त्री केपीशर्मा ओलीको कदमलाई साथ दिदै राष्ट्रपति विद्यादेबी भण्डारीले आज विहिबार अधिवेशन अन्त्य गरेकी हुन् । पार्टीभित्रको झगडा सामना गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर कार्यन्वयन गराएका छन् । कांग्रेसले जनताप्रतिको विश्वास र भरोसामाथि प्रधानमन्त्रीले प्रहार गरेको प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय प्रधानमन्त्रीको बचाऊका लागि भएको प्रतिक्रिया दिएका छन् ।
एक्कासी संसदको अन्त्य गर्नुलाई प्रधानमन्त्रीले स्वबिवेकिय अधिकार प्रयोग गर्न सक्ने संभावना बढेर गएको छ । पार्टीमा प्रम ओली एक्लिदै गएपछि प्रतिरक्षाका उपाय अवलम्बन गर्दा समेत आफु माथिको प्रहार निस्तेज भएपछि संसद अन्त्य गरेको बुझिएको छ । मन्त्रिपरिषद बैठकले संसदमा बिजनेश पनि नभएको र कोरोना महामारी रहेको भन्दै अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको जानकारी हुन आएको छ । नेकपामा शक्ती संर्घषको विवाद उत्कर्षमा पुगेको छ । त्यसैको परिणाम संसद एकाएक अन्त्य हुन पुग्यो ।
यसले नेपालको राजनैतिक भविष्यमा कस्तो परिणाम ल्याउने हो, भन्ने बारेमा नेकपाका नेताहरु समेत अन्यौलमा छन् । पार्टी स्थायी कमिटीको बैठक समेत २ दिनका लागि स्थगित गरिएको छ । त्यसले झनै अन्यौल बढाएको छ । नेकपा भित्रको शक्ती संर्घषको झगडाले ०५१ सालमा नेपाली कांग्रेसको सरकारको विगतको स्मरण गराएको छ । एक्लौटी बहुमत रहेको नेपाली कांग्रेसको सरकारमा पार्टी भित्रको अन्तरकलहका कारण मध्यावधि निर्वाचनमा जानु परेको थियो । त्यस पछिका कुनै पनि निर्वाचनमा कुनै दलको एक्लौटी बहुमतको सरकार निर्माण हुन सकेको थिएन् ।
यतिवेला नेकपाको एक्लौटी बहुमतको सरकार बनेको भएपनि ३ वर्ष पुग्दा नपुग्दै जारी शक्ती संर्घषले पुनः ०५१ सालको स्मरण गराएको छ । वर्तमान अवस्थाका बारेमा नेकपाका नेताहरु एक पक्षले अर्काे पक्षलाई दोषरोपण गर्दै आएका छन् । उनीहरु भित्रको झगडाले लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा कालो बादल मडारिएको छ । प्रम ओलीका पछिल्ला गतिबिधी र राष्ट्रपति भण्डारीको साथ र सहयोगले राजनैतिक अभ्यास माथि नै अनेकन आशंका उब्जाएको छ । यही शैलीमा सन् १९७५ मा भारतकी प्रधानमन्त्री रहेकी ईन्दिरा गान्धीले संकटकाल लगाएर कालो इतिहास रच्न सफल भएकी थिइन् । त्यसैले यतिवेला राजनैतिक वृतमा कतै केपी ओलीले पनि नेपालमा त्यही अभ्यासको पुनरावृति गरेर कालो इतिहास त रच्ने हैनन् भन्ने चिन्ता समेत हुन थालेको छ ।