६ जेष्ठ २०८१, आईतवार

 

युवालाई रोजगारी दिन १४ अर्ब बजेटको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ सुरु गरिएको छ । आगामी चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमको कुल बजेट १४ अर्ब रुपैयाँ छ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रूपमा विपन्न युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा यादवले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको बताए ।

ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनुपरेको सन्दर्भमा यो आयोजनाको तीनै तहका सरकारबाट परिणाममुखी कार्यान्वयन आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा जर्भोसले आयोजनाले दीर्घकालीन लक्ष्य प्राप्तिका अतिरिक्त विश्व बैंकको कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने नीतिअनुरूप चालू वर्ष सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत–सम्भार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्