३ श्रावण २०८३, आईतवार

 

६ लाख १५ हजारले गरे कोेरोना बिमा

कोरोना भाइरसको संक्रमणसँगै बिमा गर्नेको संख्या पनि बढिरहेको छ । हालसम्म ६ लाख १५ हजार जनाले कोरोना बिमा गरिसकेका छन ।
कोरोना बिमाबापत निर्जीवन बिमा कम्पनीहरूले हालसम्म ३४ करोड ६५ लाख प्रिमियम शुल्क संकलन गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार बिमा गरेकाहरूमध्ये ३१ जनाले दाबी भुक्तानी पाइसकेका छन् । तीमध्ये एक जनाले ५० हजार र बाँकी ३० जनाले एक,एक लाख रुपैयाँका दरले पाएका हुन् ।

यस्तै थप ५० जनाले बिमा दाबी गरेको समितिले जानकारी दिएको छ । समितिको निर्देशनमा बिमा कम्पनीहरूले कोरोना संक्रमण बढेसँगै ५० हजार र १ लाख रुपैयाँको बिमा सुरु गरेका थिए ।

सरकारले निजामती कर्मचारीहरूको निःशुल्क बिमा गर्दै छ । सरकारी कर्मचारीहरूको सामूहिक कोरोना बिमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराइने भएको छ । यस्तै आमनागरिकको पनि सामूहिक कोरोना बिमामा सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने चालू आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

बिमा समितिबाट इजाजतपत्र प्राप्त २० वटा कम्पनीबाट बिमा गर्न सकिनेछ । समितिले सामूहिक बिमा गर्न ५० हजारको लागि ३०० र एक लाखका लागि ६०० रुपैयाँ प्रिमियम तोकेको छ ।

बिमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइए बिमालेख बमोजिमको कम्पनीहरूले दाबी भुक्तानी गर्नेछन् ।

बिमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्नेछ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung