
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज वज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले वज्राचार्यलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
उनल भदौ १ देखि जिम्मेवारी सम्हाल्ने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनी ग्लोबल आईएमईमा दोस्रो पटक सीईओ बनेका हुन् । २० वर्षभन्दा बढी समय नेपाल राष्ट्र बैंकमा काम गरेका वज्राचार्य पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, ग्लोबल आईएमई बैंक हुँदै उनी पछिल्लो समय सनराइज बैंकको सीईओ थिए । सनराइजमा ४ वर्षे कार्यकाल पूरा गरेर उनले एक वर्षअघि मात्र सो बैंक छाडेका हुन् ।
जनता बैंकलाई मर्ज गरिएपछि ग्लोबल आईएमईको सीईओ परशुराम कुँवर थिए । उनले एक महिनाअघि मात्र ग्लोबलबाट राजीनामा गरेपछि सीईओ पद खाली थियो । गत आर्थिक वर्षमा ग्लोबलले ३ अर्ब १४ करोड रुपैयाँ खुदनाफा गरेको छ ।