३ जेष्ठ २०८२, शनिबार

 

बागलुङ–मालढुंगा सडक फराकिलो पार्न काम धमाधम

पोखरा राजमार्गअन्तर्गत बागलुङ–मालढुंगा सडक खण्ड विस्तार र कालोपत्र गर्न ठेकेदार कम्पनीले काम अघि बढाएको छ ।
करिब ३ दशकअघि चीन सरकारको सहयोगमा बनाइएको सडक सवारी चापले साँघुरो भएपछि विस्तार गर्न लागिएको हो । यसअघि ४.५ मिटर फराकिलो रहेको सडक अब ९.५ मिटर बनाइँदै छ ।

सडक विभागले झन्डै ५ सय मिटर सडक कालोपत्र गर्न लागेको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित बांगेचौर खेलमैदाननजिकको घुम्ती साँघुरो भएकाले सवारीलाई निकै सास्ती हुने गरेको छ ।

गत चैत ६ गते म्याद सकिए पनि लकडाउनका कारण ठेकेदार कम्पनीलाई ६ महिना म्याद थपिएको छ । थपिएको म्यादभित्र निर्माण सक्ने गरी काम गरिरहेको बीएन्ड निर्माण सेवाका प्रतिनिधि विदुर शर्माले बताए । ‘लकडाउनले काम केही प्रभावित भएकोमा आर्थिक वर्ष सकिएलगत्तै धमाधम काम भइरहेको छ,’ उनले भने ।

सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख रामेश्वर लम्सालले थपिएको समयभित्र सडक तयार हुने विश्वास रहेको बताए । निगरानीका लागि आफैं कार्यस्थलमा खटिएकाले गुणस्तरमा विशेष ध्यान दिएको उनको भनाइ छ । ६६ लाख बजेटको यो योजनाको म्याद आगामी असोज ६ गतेसम्म छ ।

बागलुङ नगरपालिका–१ मा बनिरहेको ४ लेनको सडकले यस क्षेत्रको यातायात अवागमन सहज हुनुका साथै जिल्लाको पहिचानसमेत थपिएको संघीय सांसद मना केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung