२ जेष्ठ २०८१, बुधबार

 

आश्रमलाई बागलुङ महिला समाजको सहयोग

बागलुङ महिला समाज कल्याण केन्द्रले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रमका आश्रितहरूलाई बुबाको मुख हेर्ने दिनमा फलफूल र खाद्यान्न सहयोग उपलब्ध गराइएको केन्द्रकी सचिव जुनु श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

आश्रमलाई १५ हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको बागलुङ महिला समाजकी अध्यक्ष कुमारी श्रेष्ठले जानकारी दिइन् ।‘आश्रममा बस्ने दाजुभाइ, दिदीबहिनी र बालबालिकालाई बागलुङको दिदीबहिनीमार्फत सहयोग हस्तान्तरण गरेका हौं,’ बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठ भनिन् ।

कार्यक्रममा केन्द्र अध्यक्ष कुमारी श्रेष्ठ, सचिव जुनु श्रेष्ठ, सदस्यहरू अर्पणा श्रेष्ठ, सीता राजभण्डारी र आश्रम सञ्चालिका सुमीरा लामाले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ महिला समाज कल्याण केन्द्र महिलाहरूको व्यक्तित्व विकास र सामाजिक सेवामा सक्रिय संस्था हो । अहिले आश्रममा ४० जनाले आश्रय लिइरहेका छन् जसमा ७ जना बालबालिका छन ।

घरबारविहीन र सडकपेटीमा बसेका व्यक्तिहरूलाई आवाससहितको सुविधा दिने उद्देश्यले २०७३ चैत २१ गतेदेखि मानवसेवा आश्रम सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्