जर्मनीमा घरपालुवा कुकुरलाई दैनिक दुई पटक गरेर कम्तीमा एक घण्टा डुलाउनै पर्ने कानुन बन्ने भएको छ । मस्यौदा तयार भइसकेको कानुनमा लामो समय कुकुरलाई सिक्रीमा बाँधेर राख्न पनि प्रतिबन्ध लगाइने प्रावधान छ ।
एक पटकमा तीनवटाभन्दा धेरै जनावर पाल्न नदिने गरी कुकुर फार्ममाथि प्रतिबन्ध लगाउने योजना पनि कानुनमा राखिएको छ। कानुन परिवर्तनको योजनबारे कृषिमन्त्री युलिया क्लोकनरले भनिन्, ‘घरमा पालेका जनावर टाँसेर राख्ने खेलौना होइनन्, उनीहरूको आवश्यकताको ख्याल गरिनुपर्छ ।’
कानुनमा गर्न लागिएको सुधारमा कुकुरपालकहरूले अनिवार्य रूपमा गर्नुपर्ने कुराहरू समेटिएका छन् । कुकुरका मालिकले पूरै दिन कुकुरलाई एक्लै घरमा छाड्न पाउनेछैनन् । कुकुरका छाउराको सामाजिकीकरणका निम्ति दैनिक कम्तीमा चार घन्टा मानिसहरूसँगै राख्नुपर्नेछ ।
मन्त्री क्लोकनरका अनुसार जनावरको सुरक्षा र कल्याण सुनिश्चित गर्न कानुनमा गर्न लागिएका परिवर्तनहरू विज्ञहरूको सुझावमा आधारित छन् । नयाँ नियमको मस्यौदा तयार भइसकेको छ । त्यो आउँदो वर्षको सुरुमा कानुनका रूपमा आउन सक्छ ।
कानुन लागु गराउने अभिभारा जर्मन राज्यहरूको हुनेछ । कृषि मन्त्रालयकी एक प्रवक्ताले कसैले कुकुरलाई डुलाउन लग्यो कि लगेन भनेर प्रहरी कुकुरपालकको घरमा सोधखोज गर्न जाने सम्भावना निकै कम रहने बताइन् ।
पालिएका कुकुर लाई राम्रो व्यवहार गरिएको सुनिश्चित गर्नेमा जोड दिने उद्देश्य रहेको उनको भनाइ छ । पशु सुरक्षा नियमहरूविपरीत कान र पुच्छर काटिएका कुकुरहरूलाई प्रदर्शन गर्न पनि रोक लगाउने प्रस्ताव योजनामा छ ।
मन्त्री क्लोकनरको योजनामा टाढा यात्रा गराइने पशुका निम्ति साढे चार घण्टाको ट्रान्जिट समय पनि निर्धारण गर्ने नयाँ नियम समावेश गरिएको छ।













































































































































































































