
ग्रीन डेभलपमेन्ट बैंकले हनुमान नाच संरक्षण परिषद् बागलुङलाई आर्थिक सहयोग गरेको छ । बैंकको आठौं वार्षिकोत्सवका उपलक्ष्यमा परिषद्लाई ५० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठलाई चेक हस्तान्तरण गरे । सामाजिक र सांस्कृतिक उत्तरदायित्व महसुस गरी बागलुङ बजारको ३ सय वर्ष पुरानो नाच र राममन्दिरको संरक्षणका लागि सहयोग गरेको बैंकका सञ्चालक श्रेष्ठले नयाँ विश्वलाई बताए ।
उपत्यकाको भक्तपुरमा जन्मिएको नाचलाई बागलुङमा भक्तपुरबाट आएर बसेका नेवार समुदायले मात्र संरक्षण गरेका छन् । बैंकले गत वर्ष बागलुङको लक्ष्मीनारायण वैंकटेश्वर मन्दिर कुँडुलेलाई २५ हजार आर्थिक सहयोग गरेको थियो । देशमा दैवी प्रकोप पर्दा बैंकले आर्थिक भौतिक सहयोग गर्दै आएको छ ।
२०७० भदौ ९ गते ‘ख’ श्रेणीको विकास बैंकका रूपमा बागलुङमा केन्द्रीय कार्यालय बनाएर सञ्चालनमा आएको बैंकले १३ शाखाबाट सेवा दिइरहेको छ ।
बागलुङ, म्याग्दी, कास्की, नवलपरासी गरी ५ जिल्लाबाट सेवा दिइरहेको बैंकको ५० करोड सेयर पुँजी छ । निक्षेप १ अर्ब २७ करोड पुगेको बैंकले जनाएको छ ।
बैंकले १ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ । अब तनहुँको डुम्रे र दुले गौंडामा शाखा विस्तार गर्दै छ । बैंकले यस वर्ष ५ प्रतिशत नगद लाभांस प्रदान गर्न लागेको छ ।
२०७६ बाट गण्डकी प्रदेशको राजधानी पोखरामा केन्द्रीय कार्यालय राखेर बैंकले अत्याधुनिक सुविधासहित सेवा दिइरहेको अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । ग्रीन डेभलपमेन्ट बैंक गण्डकी प्रदेशको एक मात्र विकास बैंक हो ।