
सिन्धुलीमा पठनपाठनको तयारीमा जुटेका ८ शिक्षकमा कोरोना पुष्टि भएको छ । हरिहरपुरगढी गाउँपालिकाका ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २ जना महिला रहेका छन् । संक्रमित शिक्षक पठनपाठनको तयारीका लागि कर्मथलो सिन्धुली फर्केका हुन् ।
उनीहरु ३० देखि ५८ वर्ष उमेरका रहेका छन् । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहकाअनुसार यो संख्यासँगै आइतबार मात्रै सिन्धुलीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन् । यस्तै अन्य ३ जना पनि शिक्षक रहेका छन् । ती पनि क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् ।
सिन्धुलीका सबै स्थानीय तहले विद्यालय खोल्ने तयारी गरिरहेका छन् । जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थालेका छन् । जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन् । सोहि अनुरुप परिक्षण गर्दा ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।