
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय जनाले पार्टीको सदस्यबाट राजीनामा बुझाएका छन् ।
राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत छन् । रुपन्देहीका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य रहेका उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको आरोप लगाएका छन् ।
‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्यो। हाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौ,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।
उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।