
यो दसैंका लागि बस टिकटमा अग्रिम बुकिङ नखुल्ने भएको छ । शनिबारदेखि दसैं सुरु भइसके पनि व्यवसायीले नियमित बाहेकका बस थपेका छैनन् त छुट्टै टिकट काउन्टर राखेका छन् ।
नियमित काउन्टरबाटै सजिलै टिकट पाइने अवस्था रहेको यातायात व्यवसायीले बताएका छन् । बसको सिटसंख्या अनुपातमा यात्रु नै पु¥याउन गाह्रो परिरहेको उनीहरूको गुनासो छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मीसहितको बैठकले आवश्यक परे आइतबारबाट बुकिङ खोल्ने निर्णय गरेको थियो । तर यात्रुको संख्या निकै न्यून भएका कारण अग्रिम बुकिङ नखोल्दा उचित हुने बैठकले ठहर गरेको हो ।
विभागका निर्देशक लोकनाथ भुषालले अहिलेसम्मको अवस्था हेर्दा यसपटक टिकटको अग्रिम बुकिङ काउन्टर आवश्यक नदेखिएको बताए । ‘बुकिङ खोल्ने औपचारिक निर्णय भएको छैन । केही व्यवसायी आफैंले खोलेका छन् । बसपार्कहरूमा गयो भने ८–९ गतेसम्मका टिकट सजिलै दिइरहेका छन्,’ उनले भने, ‘यात्रु धेरै भए, टिकटको माग भयो भने व्यवसायीले बुकिङ खोल्न तयार छौं भनेर प्रतिबद्धता जनाएका छन् ।’ बैठकका सहभागीको निष्कर्ष यात्रुको चाप बढ्ने÷नबढ्ने अवस्थालाई पर्खेर हेरेपछि मात्रै आवश्यक कदम चाल्न उचित हुने भनी आएको उनले बताए ।
शनिबार घटस्थापना भए पनि यात्रुहरूको चहलपहल एकदमै न्यून रहेको व्यवसायीहरूको भनाइ छ । सिट संख्याको अनुपातमा यात्रु नपुग्दा बस रित्तारित्तै चलाउनुपरिरहेको गुनासो उनीहरूको छ । विगत वर्षमा दसैं सुरु हुन दुई साताअघिबाटै यात्रुको चाप हुन्थ्यो । व्यवसायीले अन्तका बस पनि झिकाएर लामो दूरीका लागि थप्थे । चाडबाड यातायात व्यवसायीका लागि मनग्य कमाइ गर्ने अवसर पनि थियो ।
कोरोनाको सन्त्रासका कारण यसपटक यात्रुको आवागमन निकै कम छ । रुटका बसमै यात्रु पर्याप्त नपाएको गुनासो व्यवसायीको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले यात्रु नपाएकै कारण व्यवसायीले आलोपालो सिस्टममा आधारित भएर सेवा दिइरहेको बताए । उनका अनुसार सामान्य अवस्थामा सञ्चालन हुने बस ५० प्रतिशत पनि चलेका छैनन् ।