५ जेष्ठ २०८१, शनिबार

 

विरोधपछि प्रहरीले छाडिदियो सहकारीको फोहर संकलन गर्ने गाडी

प्रहरीले नियन्त्रणमा लिएको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको फोहर संकलन गर्ने गाडी छाडिदिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको पत्रपछि सोमबार जिल्ला प्रहरी कार्यालयले गाडी फिर्ता दिएको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले जानकारी दिए ।

बागलुङ नगरप्रमुख जनकराज पौडेलको दबाबमा प्रहरीले असोज २५ गते बिहान ११ बजे श्रीनगर टोलबाट सहकारीको ग१ख ५४२८ नं को गाडी नियन्त्रणमा लिएको थियो ।

‘हामीले वातावरण सहज बनाउन र संवादबाट निकास निकाल्न सबै जिम्मेवार बनून् भनेर सहकारीलाई फोहर संकलन गर्ने गाडी उपलब्ध गराएका हौं,’ निमित्त प्रजिअ उपेन्द्रराज पौडेलले नयाँ विश्वसँग भने ।

बागलुङ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीसँग सहकारीले २०७२ फागुन १० गते सम्झौता गरी फोहर संकलनको काम गर्दै आएको थियो ।

तर, संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको गत साउन ३२ गतेको बैठकले सम्झौता रद्द गरेको थियो ।

त्यसपछि बागलुङ नगरपालिकाले फोहर महसुलको काउन्टर स्थापना गरी बागलुङ बजारमा फोहर संकलन गर्न थालेपछि सहकारी कात्तिक १ गतेदेखि उपभोक्तालाई लिएर संघर्षमा उत्रिएको थियो ।

बागलुङ नगरलाई सफा र सुन्दर बनाई वातावरण र पर्यावरण संरक्षण लाग्दा पनि नगरपालिकाबाट असहयोग र अवरोध भएकाले बजारका उपभोक्तासँगै न्यायका लागि सडकमा आएको सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्