४ जेष्ठ २०८१, शुक्रबार

 

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उमेदवारी दर्ता

नेपाल उद्योग वाण्ज्यि महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्र ढकालले उमेदवारी दर्ता गरेका छन् ।महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनका प्यानलका सबै उपाध्यक्षका उमेदवारहरुले बुधबार उमेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उमेदवारी घोषणा गरेका थिए ।महासंघको चुनावका लागि उमेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्