४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघको केन्द्रीय सदस्यमा ढकाल समूहको उम्मेदवारी दर्ता, प्रधान समूहको पनि उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन कार्यालयसमेत रहेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय पुगी ढकाल प्यानलका विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गराएका हुन् ।

वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । साथै एसोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन स्थलमा पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी–व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताए । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानीसमेत प्रवर्धन गर्ने उल्लेख गर्दै उनले देशविदेशमा रहेका लाखौं नेपालीका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताए ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला,नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाईले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा केहीले उम्मेदवारी दिन बाँकी रहेको बताइएको छ । केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले पनि केही दिनभित्रै उम्मेदवारी गर्दा गराउने पनि उपाध्यक्षका उम्मेदवार ढकालले जानकारी दिए ।

प्रधान समूहको पनि उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशी प्रधानले सोमबार बिहान उम्मेदवारी घोषणा गरेका थिए । प्रधान समूहले दिउँसो महासंघमा उम्मेदवारी दर्ता गरेको हो ।

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिलगायत अन्य उम्मेदवारले प्रत्यक्ष र अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा ‘वेटिङ प्रेसिडेन्ट’ शेखर गोल्छाले आफ्नो सबैभन्दा पहिलो काम महासंघलाई राजनीतिबाट अलग राख्ने रहेको बताए ।

‘महासंघमा राजनीति भनेको क्यान्सर हो । हामी त्यहाँ राजनीति होइन, काम गर्न जान लागेका हौं,’ उनले भने, ‘मैले विभिन्न अर्थविज्ञहरूसँग परामर्श गरेर एउटा भिजन बनाएको छु । मेरो कार्यकालमा देशको अर्थतन्त्रलाई अझ बढी बलियो बनाउने मुख्य काम हुनेछ ।’

वरिष्ठ उपाध्यक्षका लागि दसैंअघि चन्द्रप्रसाद ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

तस्वीर : नेपाल खबर र क्यापिटलनेपालबाट

प्रतिक्रिया दिनुहोस्