४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघ केन्द्रीय सदस्यमा बागलुङका व्यवसायी श्रेष्ठको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बागलुङका व्यवसायी निर्माणकुमार श्रेष्ठ ‘वासु’ले उम्मेदवारी दर्ता गराएका छन । उनले बिहीबार अनलाइनमार्फत उम्मेवारी दर्ता गराएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिए ।

आफ्नो उम्मेदवारी कोरोना कहरका बेला जिल्ला–नगरका व्यवसायी र उद्योगीको मनोबल माथि उठाउन र उनीहरूको समस्या बलियो ढंगले सरोकारवालाहरूसम्म पु¥याएर व्यावसायिक वातावरण तयार पार्नका लागि भएको श्रेष्ठले बताएका छन् ।

‘व्यावसायिक वातावरणका लागि मेरो नेतृत्वमा गत कार्यकालमा भएको समन्वय र सहजीकरणको कामले व्यवसायीहरू सन्तुष्ट भएको र धेरै साथीहरूको समर्थन रहेकाले मेरो जित निश्चित छ,’ उनले नयाँ विश्वसँग भने ।

श्रेष्ठले महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी–व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताए ।

धौलागिरि अञ्चलबाट श्रेष्ठको उम्मेदवारीले व्यवसायी–उद्योगी उत्साहित भएको जनाउँदै बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठले भने उनीमार्फत धौलागिरि र गण्डकी प्रदेशलाई आर्थिक रूपमा माथि उठाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

यस अघि पनि श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी भएका थिए । श्रेष्ठ बागलुङमा व्यवसायका साथै सामाजिक सेवामा क्रियाशील छन् ।

महासंघको ५४औं महाधिवेशन मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ । हिजो बुधबार महासंघको केन्द्रीय कार्यालय पुगी ढकाल प्यानलका विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गराएका थिए ।

वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । साथै एसोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतको उम्मेदवारी छ ।

ढकाल प्यानलबाटै वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाईले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानीसमेत प्रवर्धन गर्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले बताउँदै आएका छन् । उनले देशविदेशमा रहेका लाखौं नेपालीलाई रोजगारी दिन सक्ने गरी औद्योगिक वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्