सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट शिवनाथ पाण्डेले राजीनामा गरेका छन् । २०७३ फागुनमा चार वर्षका लागि नियुक्त भएका उनी कार्यकाल बाँकी छँदै कम्पनीबाट बाहिरिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएको केही समयमा उनी सूर्य लाइफ गएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० वर्षे अनुभव छ । उनी २० वर्षदेखि व्यवस्थापकीय पदमा थिए । उनी सूर्य लाइफमा छिर्दा पहिलो प्रिमियम ३२ करोड रुपैयाँ थियो ।
छाड्दै गर्दा १६० करोड पुगेको छ । लाइफ फन्ड ३ अर्बबाट ८ अर्ब पुगेको छ । लगानी कोष १ हजार करोड पुगेको छ । उनले धेरै वर्षदेखि रोकिएको साधारणसभा सकेका थिए ।
३० वर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका प्रत्याशी थिए । अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो । नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए ।
स्रोतका अनुसार पाण्डेको कार्यकाल बाँकी छँदै कम्पनी सञ्चालक समितिले अर्को प्रमुख कार्यकारी अधिकृत ल्याउने तयारी गरिरहेको चर्चा चलाइएको थियो । यसबाहेक पाण्डे आफैं पनि सीए फर्म खोलेर छुट्टै काम गर्न खोजिरहेका थिए ।













































































































































































































