२ जेष्ठ २०८२, शुक्रबार

 

किवी खेतीतर्फ तानिँदै बागलुङका कृषक

सरकारले कृषिकर्ममा लाग्नेलाई अनुदान दिने नीति बनाएपछि बागलुङका कृषक यति बेला किवी खेतीतर्फ आकर्षित बनेका छन् ।
गाउँदेखि सहरसम्म किवी फलको राम्रो व्यापार भएपछि उनीहरू यसैको खेतीमा लागेका हुन् ।

नेपालका पूर्वी पहाडी जिल्लाहरूमा व्यावसायिक रूपमा सुरु गरिएको किवी बागलुङमा पनि विस्तार हुन लागेको हो । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि किसान यसमा तानिएका छन् ।

किवीको एउटा बोटबाट एक सय केजीभन्दा बढी उत्पादन हुने र बजार मूल्यसमेत राम्रो रहेको ढोरपाटन नगरपालिका–५ का चन्द्र गौतमले बताए ।

आफूले उत्पादन गरेको किवी स्थानीय बुर्तिवाङ बजारका साथै काठमाडौं र बुटवलसम्म निर्यात हुने गरेको उनले जानकारी दिए ।
गाउँमा खेर गइरहेको खाली पाखोमा अहिले किवी खेती विस्तार हुन थालेको छ । बागलुङमा किवी प्रतिकेजी ४ सय ५० देखि ६ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

ठूला होटलबाट माग हुने र औषधिका रूपमा समेत प्रयोग हुने थाहा पाएपछि यसको खेती सुरु गरेको स्थानीयको भनाइ छ । जिल्लाका बडिगाड गाउँपालिकाको ग्वालीचौर, ढोरपाटन नगरपालिकाका विभिन्न वडा, निसीखोला गाउँपालिका र बागलुङ नगरपालिका ५, ६, ८ र १३ नम्बर वडाका किसानले किवीका बिरुवा रोपेका छन् ।

किवी खेतीका लागि १५ सयदेखि २ हजार ५ सय मिटरको उचाइमा पानीको राम्रो प्रबन्ध भएको जमिन आवश्यक मानिन्छ । विशेष गरी युरोपियन बजारहरूमा राम्रो माग रहेको किवीको नेपालमा पनि व्यावसायिक खेती हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung