
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित २१ केन्द्रीय सदस्य कोभिड–१९ को संक्रमणमा परे । तीमध्ये ११ जना संक्रमणमुक्त भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले १० केन्द्रीय सदस्यमा कोभिड–१९ को संक्रमण रहेको र ११ जना संक्रमणमुक्त भइसकेको जानकारी दिए । सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकअगाडि केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरू र उनीहरूका सहयोगीहरूको पीसीआर परीक्षण गरेको थियो ।
२० कात्तिकमा गरिएको परीक्षणको रिपोर्ट आउँदा दीलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, मो नसिर सिद्धिकी, किरण यादव, सुरेन्द्र पाण्डे, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे गरी ७ जनालाई संक्रमण देखिएको सचिव केसीले बताए ।
त्यसभन्दा अगाडि गराएको परीक्षणमा केन्द्रीय सदस्यहरू फरमुल्लाह मन्सुर, शिवप्रसाद हुमागाईं र मीन विश्वकर्मामा संक्रमण देखिएको हो । कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मालाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ग्रान्डी इन्टरनेसनल अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
कांग्रेसले गत असोज १९ मा केन्द्रीय कार्यासमिति बैठक बोलाउँदा बैठकमा सहभागी हुने नेताहरू र उनीहरूका सहयोगीको केन्द्रीय कार्यालयमा असोज १५ गते पीसीआर परीक्षण गरेको थियो ।
त्यस बेला पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य गगन थापा, गीता चौधरी, कल्पना चौधरी, जंगीलाल राय र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा संक्रमण देखिएको थियो ।
उनीहरू सबै संक्रमणमुक्त भएका छन् । केन्द्रीय सदस्य र उनीहरूका सहयोगी दुई दर्जनभन्दा बढीमा संक्रमण देखिएपछि १९ गतेको बैठक २४ असोजसम्म सारिएको थियो ।
त्यही बेला बाहिर परीक्षण गराएका महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, जीवनबहादुर शाही, रमेश रिजाल, अजयकुमार चौरसियामा पनि कोभिडको संक्रमण देखिएको थियो ।
उनीहरू पनि संक्रमणमुक्त भइसकेका छन् । असोज २४ गते बोलाइएको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरियो । फेरि सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि बोलाएका थिए ।
पदाधिकारी र शीर्ष नेताहरूबीच पार्टीको १४औं महाधिवेशनको मिति कति समय सार्ने भन्ने विषयमा मतैक्य नभएपछि पुनः सोमबारसम्मका लागि सारिएको छ । केही नेताहरूलाई कोभिड संक्रमण देखिए पनि यसपटक भने बैठकको मिति नसर्ने केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए ।