
नेपालको वैदेशिक व्यापार सामान्य अवस्थामा फर्किएको छ । कोरोना महामारीपछि वैदेशिक व्यापार ९० प्रतिशतसम्म खुम्चिए पनि अहिले गत वर्षकै अवस्थामा पुगेको हो । भन्सार विभागका अनुसार अहिले वीरगन्जमा गत वर्षकै हाराहारीमा सामान आयात हुन थालेको छ ।
गत असोज, कात्तिकमा वीरगन्जमा दैनिक ७ सय हाराहारी मालसामान गाडी भित्रिने गरेका थिए । अहिले पनि सोही परिमाणमा भित्रिन थालेको विभागको भनाइ छ ।
अहिले एकीकृत जाँच चौकी आईसीपी भन्सारबाट दैनिक ७ सयसम्म गाडी मालसामान भित्रिरहेको आईसीपी सञ्चालक नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
आईसीपीबाट भित्रिने गाडीको संख्या बढेपछि पार्किङ अभाव भएको छ । आईसीपीमा अहिले २५० देखि ३०० गाडी अटाउने पार्किङ स्थल छ । गाडीको चाप बढेपछि आईसीपीले बिलिङ काउन्टर पनि थपेको छ ।
यसअघि दुईवटा काउन्टरबाट काम भइरहेकोमा गाडीको संख्या बढेकाले एउटा काउन्टर थपिएको समितिले जनाएको छ । सुक्खा बन्दरगाह भन्सारबाट पनि मालसामानको जाँचपास बढेको छ ।
समितिका अनुसार बन्दरगाहमा अहिले दैनिक २ रेल ¥याक मालसामान आइरहेको छ । दिनहुँ ३ सयदेखि ३५० सम्म कन्टेनर जाँचपास हुन थालेको छ ।