
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई विजयी गराउन भन्दै गण्डकी प्रदेशले ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा उक्त प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरूसहित समिति गठन गरिएको हो ।
महासंघको ५४औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधि तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई निर्वाचित गराउन चुनाव प्रचारप्रसार कमिटी गठन गरिएको संयोजक कोइरालाले जानकारी दिए ।
‘अहिले म म्याग्दीमा आइपुगेको छु, हामीले समिति नै गठन गरेर चुनाव प्रचार तीव्र बनाएका छौं,’ कोइरालाले टेलिफोनमा भने, ‘सबै अध्यक्षहरूको आग्रहमा समिति बनाइएको हो, कसरी हुन्छ ढकाल प्यानललाई हामी जिताउने अभियानमा छौं ।’
गण्डकी प्रदेशले यसअघि नै ढकाल प्यानललाई विजयी गराउन सर्वसम्मत निर्णयसमेत गरिसकेको छ । समितिमा महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११, गण्डकी प्रदेशभित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्ष गरी जम्मा ५१ जना छन् ।