
फाइल तस्बिर
कोरोना महामारीका कारण अस्तव्यस्त भएको उपत्यकाको घरजग्गा कारोबार विस्तारै लयमा आउन थालेको छ । यसको प्रमुख कारण दलालको भर नपरी क्रेता–बिक्रेताबीच सोझो सम्पर्क बढ्नु देखिएको छ ।
कोरोनाले थलिएको बजारमा बिस्तारै सस्तो घरजग्गाको किनबेच बढ्न थालेको उपत्यकाका मालपोत कार्यालयहरूले जनाएका छन् । पछिल्लो एक सातामा मात्रै उपत्यकामा दैनिक अधिकतम ३ सयसम्म घरजग्गा किनबेच हुन थालेका छन् ।
जबकि अघिल्लो महिनासम्म पनि उपत्यकामा दैनिक १०० देखि १५० हाराहारी मात्रै घरजग्गा किनबेच हुने गरेका थिए । उपत्यकामा अहिले ललितपुर, भक्तपुर, कलंकी, साँखु र मनमैजुमा तुलनात्मक रूपमा धेरै घरजग्गा किनबेच भइरहेका छन् । यी कार्यालयले अन्य क्षेत्रभन्दा सस्तो जग्गा पाउने उपत्यकाका काँठ क्षेत्रका घरजग्गा किनबेच गराउने भएकाले त्यहाँको कारोबार उच्च देखिएको हो ।
मालपोत कार्यालय, ललितपुरले दैनिक एक सयभन्दा बढी घरजग्गा किनबेच गराउन थालेको छ । चाडबाडले कार्यालय समय प्रभावित हुँदा पनि ललितपुरले पछिल्लो एक सातामा चार सय घरजग्गा किनबेच गराएको छ । दोस्रोमा रहेको भक्तपुरले पनि दैनिक ५० देखि ६० वटासम्म घरजग्गा किनबेच गराइरहेको छ । प्राविधिक कारणले ३ दिनको तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागमा नआए पनि उसको दैनिक कारोबार संख्या ललितपुरपछिको धेरै छ ।
काठमाडौंमा भने मालपोत कार्यालय साँखु, मनमैजु र कलंकीले दैनिक ४० देखि ५० वटासम्म घरजग्गा किनबेच गराइरहेका छन् । यी कार्यालयले पछिल्लो एक सातामा १ सय ५० देखि २ सयवटासम्म घरजग्गा किनबेच गराएका छन् । महँगा घरजग्गाको मात्रै कारोबार हुने डिल्लीबजार कार्यालयअन्तर्गत भने अहिले पनि दैनिक २ देखि १९ वटासम्म मात्रै घरजग्गा किनबेच भइरहेका छन् ।
डिल्लीबजारले एक सातामा जम्मा ४४ वटा मात्रै घरजग्गा किनबेच गराएको छ । त्यस्तै बूढानीलकण्ठ–चाबहिल क्षेत्रको कारोबार गर्ने चाबहिल कार्यालयले पनि दैनिक ८ देखि ३६ वटासम्म मात्रै घरजग्गा किनबेच गराइरहेको छ । यो अवधिमा चाबहिलबाट १ सय ३६ वटा मात्र घरजग्गा किनबेच भएका छन् ।