२० बैशाख २०८१, बिहीबार

 

चन्द्रप्रसाद ढकाल जस्ले इतिहास रचे

चन्द्रप्रसाद ढकाल बागलुङको अमलाचौरमा २०२२ असार ९ गते जन्मिएका हुन् । उनले ०४८–४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । सन् २००१ मा इन्टरनेसनल मनि ट्रान्सफर (आइएमई)ले उनलाई स्थापित गरायो ।

रेमिटेन्स, बैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, कार्गो, चन्द्रागिरि हिल्सलगायतमा उनको लगानी छ ।

ढकाल अध्यक्ष रहेको आइएमईले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसै गरी रेमिटेन्स कम्पनीमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आइएमई लगातार तीन पटकसम्म ठूला करदाताका रूपमा सम्मानित भएको छ । नेपालमा कुल रेमिट्यान्समध्ये २५ प्रतिशत आइएमईमार्फत भित्रिने गरेको छ ।

सरकारले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानबाट पटकपटक विभूषित भएका ढकाल इन्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् ।

पछिल्लो समय उनको बायोडाटामा अर्को एउटा महत्त्वपूर्ण पद थपिएको छ । त्यो हो, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष ।

किशोर प्रधानसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकाल आइतबार बिहान महासंघको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्