२० बैशाख २०८१, बिहीबार

 

अब चुनावी मनमुटाव बिर्सिएर सहकार्य गरौं– महासंघ अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चुनावको मनमुटाव बिर्सिएर सहकार्य गर्न कार्यसमितिका अन्य पदाधिकारी र सदस्यलाई आग्रह गरेका छन् । आइतबार अध्यक्षको पदभार ग्रहणपछि उनले यस्तो बताएका हुन् ।

‘चुनावमा गुट–उपगुट भए पनि अब हामी एक हौँ । एकताको महत्त्व हामी सबैले बुझेका छौँ । घोचपेच, मनमुटाव सबै बिर्सिएर सहकार्य गर्ने कुरामा आशावादी छु,’ उनले भने । गोल्छा परिवारले मुलुकमा पहिलोपटक उद्योग सञ्चालन गरेको स्मरण गर्दै उनले आफ्नो परिवारले उद्योग विस्तारमा बनाएको योजना साकार बनाउने प्रतिबद्धता जनाए ।

‘मन्दिरका रूपमा रहेको महासंघमा आउन पाउँदा धन्य छु । यो अवसरमा पूर्वअध्यक्ष भवानी राणाप्रति आभारी छु । पहिलो महिला नेतृत्व अनुकरणीय छ । यो अवस्थामा प्रभावित निजी क्षेत्रलाई अगाडि बढाउन सधैं भूमिका खेल्नुभयो,’ उनले भने, ‘उहाँको नेतृत्वमा काम गर्न पाउँदा धन्य छु ।’ उनले पूर्वअध्यक्ष पशुपति मुरारकाप्रतिसमेत आभार व्यक्त गरे ।

अध्यक्ष पदमा आएलगत्तै तत्काल उद्यमी–व्यवसायीलाई राहत, अर्थतन्त्र सुधार, दिगो आर्थिक वृद्धिका लागि वार्षिक चार हजारको रोजगारी सिर्जनालगायत रणनीतिक योजनाअनुसार अगाडी बढ्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष भवानी राणाले गोल्छाको नेतृत्वमा महासंघ थप विस्तार हुने बताइन् । ‘आज मेरा लागि यो ऐतिहासिक क्षण हो । झन्डै साढे तीन वर्षअगाडि ५० वर्षको इतिहासमै पहिलोपटक महिलाले नेतृत्व लिएको थिएँ ।

कोभिडमा ५४औँ साधारणसभा स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सफलतापूर्वक आयोजना गरेका छौँ,’ उनले भनिन् । अहिले कोभिड ठूलो चुनौती रहे पनि महासंघको नयाँ नेतृत्वले त्यसलाई सहजै सामना गर्न सक्ने विश्वास आफूले लिएको उनले बताइन् ।

उनले पशुपति मुरारको सुझाव र सल्लाहमा आफ्नो कार्यकाल अगाडि बढाउन सकेको बताइन् । आइतबार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले शपथसहित पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्