सरकारले नयाँ विधिबाट कोरोना परीक्षण सुरु गरेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि ‘एन्टिजेन जाँच’ सुरु गरिएको हो ।
काठमाडौंका चार–पाँच ठाउँमा अहिले बिहान यो परीक्षण सुरु गरिएको उनले जानकारी दिए । ‘डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो,’ पाण्डेले भने, ‘सुरुमा एन्टिजेन परीक्षण उपत्यकाबाट थालेका हौं ।’
यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रै नतिजा आउने उनले बताए । यसको ‘सेन्सिटिभिटी’ पीसीआर विधिको भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनको दाबी छ ।
उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा। पाण्डेले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा अब हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा सोमबार एन्टिजेन परीक्षण सुरु गरिएको उनले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।
यो छिटोछरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने विधि हो । यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन ।
फिल्डमै गर्न सकिन्छ । डा पाण्डेका अनुसार सानो थर्मोमिटरभन्दा अलि मोटो र लाम्चो हुने ¥यापिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कोरोना संक्रमण छ भन्ने भन्ने थाहा हुन्छ ।























































































































































































