१७ बैशाख २०८१, सोमबार

 

अमेरिकामा ६१ वर्षीय हजुरआमाले आफ्नै नातिनी जन्माइन्

अमेरिकाको नेब्रेस्काकी ६१ वर्षीया महिलाले आफ्ना समलिंगी छोरा र उनका श्रीमान्को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी छन् ।

सेसेल एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत साता उमा लुइसलाई जन्म दिएकी हुन् ।

एलेड्जले छोरा र उनका श्रीमान्ले परिवार सुरु गर्न चाहेपछि आफूले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन् । ‘सुरुमा सबैले हाँसोमा उडाए,’ उनले बीबीसीलाई भनिन् ।

तर जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताए । त्यसपछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सरोगेट आमा बन्न बाटो खुल्यो । ‘म स्वास्थ्यप्रति धेरै सचेत छु,’ उनले भनिन्, ‘म गर्भवती हुन सक्ने कुरामा शंका गर्ने प्रश्नै थिएन ।’

उनका लागि छोराले वीर्य र छोराका श्रीमान्की बहिनीले डिम्ब दान गरे । डोथ्रीले महिला र पुरुषको जोडीले बच्चा पाउनका लागि कृत्रिम गर्भाधानलाई अन्तिम प्रयासका रूपमा हेर्ने बताए ।

‘तर हामीलाई थाहा थियो, समलिंगी जोडी भएकाले हामीले फरक सोच्नुपर्छ,’ छोराले भने । पहिल्यै तीन सन्तान जन्माएकी एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो ।

यो घटनाले अमेरिकाका समलिंगी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ । सन् २०१५ यता समलिंगी विवाहले मान्यता पाए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिंगी जोडीका लागि अभिभावक बन्न सम्भव थिएन ।

एलेड्जले आफ्नो गर्भावस्थाको स्वास्थ्य हेरचाहको खर्चका लागि बिमा कम्पनीसँग संघर्ष गरे पनि सफल भइनन् । उनले आफ्नो बच्चा जन्माएकी भए बिमा कम्पनीले उनको सबै स्वास्थ्य खर्च बेहोथ्र्यो ।

बच्चाको जन्मदर्तामा जसले बच्चा जन्मायो, उसकै नाम लेखिने भएका कारण डोर्थीको नाम लेखिएन । एलेड्जलाई चार वर्षअगाडि समलिंगी विवाह गर्ने घोषणा गरेपछि स्कुट क्याथोलिक हाई स्कुलले शिक्षकको जागिरबाट निकालेको थियो ।

उनको समर्थनमा सुरु गरिएको अनलाइन अभियानमा एक लाखभन्दा बढीले सहभागिता जनाएका थिए । उमाको जन्मको एक सातापछि एलेड्जले आफू र आफ्नी नातिनी स्वस्थ रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्