४ जेष्ठ २०८२, आईतवार

 

विवेकशील नेपाली र साझा पार्टी पुनः एकीकरण, के– के छन् सहमति ?

विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।  बुधबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गरेका हुन् ।

विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा यसअघि एकीकृत भएका थिए । तर एकीकरण लामो समय रहेन । परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भइको थियो । आज जारी घोषणापत्रमा उक्त घटनालाई ‘निकै दुःखद्’ उल्लेख गरिएको छ ।

‘पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍यायो । तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आमनागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो । परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ,’ एकीकरण घोषणापत्रमा लेखिएको छ।

आज भएको एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने प्रयास रहेको जनाइएको छ।

‘यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ,’ घोषणापत्रमा भनिएको छ।

एकीकरणपछि विवेकशील साझा पार्टीले आफूहरूले बहुलवादमा आधारित ‘कल्याणकारी लोकतन्त्र’, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहेको बताएको छ।

एकीकरणका प्रमुख बुँदाहरू

१– एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२– एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३– एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४– एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५– एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५(६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या ९१३(१३ जना० मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६– एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७– सोही कार्यविधिअनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८– पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९– एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुरूप हुनेछ।

१०– एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung