७ जेष्ठ २०८१, सोमबार

 

पोखरेल एआईजीमा बढुवा

सरकारले प्रहरी नायब महानिरीक्षक डीआईजी विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेलको बढुवा गरेको हो ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पालले पाएका छन् ।

पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएका हुन् । उनकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिई एउटा एआईजीको दरबन्दी थपेको थियो ।

बुधबार राज्य व्यवस्था समितिको छलफलमा सहभागी गृहमन्त्री थापाले गृह मन्त्रालयले डीआईजीका पाँचवटा दरबन्दी मात्र थप्न प्रस्ताव गरेको बताएका थिए । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थपेको बताएका थिए । छलफलमा सहभागी सत्तारुढ सांसदले समेत एआईजीको दरबन्दी थप गर्ने निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्