
भौगोलिक कठिनाइका कारण विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका सबै बस्ती सडक सञ्जालले जोडिएका छन् ।
जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शिता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप, गिलार तथा ओखले सिम्लेसम्मका सबै बस्ती सडक सञ्जालमा जोडिएका हुन् ।
‘यसअघि रामतोलाका मानिसले आफ्नै वडाको मुकाम पुग्न भकुन्डेको बाटो हिँड्नुपथ्र्यो,’ गौतमले भने, ‘बालबालिकाका लागि विद्यालय पनि नजिक भएका छन् ।’ अन्य विकासका काम गर्न बाँकी भए पनि सडक सञ्जालले जोडिँदा समेत धेरैले खुसियाली मनाएको उनले बताए ।
अहिले रायडाँडाबाट दैनिक चारवटासम्म जिप सदरमुकामका लागि चल्न थालेका छन् । सडक सहज भएपछि बिरामी, बूढाबूढीले बढी सेवा पाएको बताए ।
तीन वर्षमा झन्डै १ करोड ५० लाख रुपैयाँ यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ । ती सडक जोडिएपछि दैनिक आउजाउमा सहज भएको स्थानीय विद्यार्थी प्रगति थापाले बताइन् ।
‘विद्यालय आउन दुई घण्टा लाग्थ्यो, सडक बनेपछि पैदलै आए पनि १ घण्टामा छोटियो,’ उनले भनिन्, ‘गोरेटो बाटोमा लडिएला झैं लाग्थ्यो, अहिले सहज भयो ।’
रामतोलादेखि भकुन्डेको हिराताल पुग्ने र रायडाँडाको मुकाम जोड्ने गरी अर्को सडक पनि बनेको छ । ५० लाख खर्चेर वडाले जोडेको सडकमा पहरा फोड्न नसकेपछि नेपाली सेनाले साथ दिएको थियो ।
सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलको टोलीले पहरामा विस्फोट गराएर सडक जोड्न सहयोग गरेको हो ।डोठेआल रामतोला जैमिनि सडकमार्फत पूर्वाधार विकास कार्यालयले पनि यहाँ ४३ लाख लगानी गरेर सडक सञ्जाललाई तल्लो रामतोलामा जोडेको छ ।
यो सडक बनेपछि सदरमुकाम पुग्न सहज भएको तल्लो रामतोलाका नारायण शर्माले बताए । ‘किसानले गाईभैंसी वारपार गराउने सडकसमेत थिएन, अहिले धेरै सहज भयो,’ शर्माले भने, ‘अबका दिनमा सडक स्तरोन्नतिको काम गर्नुपर्छ ।’
ग्रेड मिलेको सडक भएकाले अब छिट्टै स्तरोन्नतिका लागि पहल गर्ने गौतमले बताए । ‘बस्तीका लागि सडकै नभएको भन्ने अब खास छैन, अबको लगानी सडकहरूको स्तरोन्नतिमा लगाउने भनेका छौं,’ उनले भने, ‘विशेष क्षेत्रको रूपमा
घोषणा भए पनि मन्त्रिपरिषद्बाट पारित नभएकाले विशेष लगानी पाउन सकिएको छैन ।’ विशेष क्षेत्र विकास कार्यक्रमको बजेट ल्याउन सके मुख्य सडक कालोपत्रेसमेत गर्न सकिने उनले बताए ।
भकुन्डेदेखि रायडाँडा हुँदै दमेक जोडेर गुल्मीको शान्तिपुरसम्म पुग्ने सडकका रूपमा विकास गरिने भएकोले मुख्य सडकखण्ड भने नगरपालिका र गण्डकी प्रदेशकै गौरवको आयोजनामा पर्ने भएको छ । यो सडकले रायडाँडादेखि आफ्रे सल्र्यान हुँदै दमेक जोड्नेछ ।