६ जेष्ठ २०८१, आईतवार

 

इजरायलमा कामदार पठाउने प्रक्रिया शुरु गरिँदै

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा पुनः कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । नेपाल र इजरायलबीच सरकारी स्तरमा गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडि बढाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता भइसकेको छ ।

इजरायलमा कामदार पठाउन गत असोजमा भएको श्रम सम्झौतालाई गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेका कारण चाँडै कामदार पठाउने प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । सन् २०१५ मा भएको श्रम सम्झौतालाई आधार मानेर दुई देशबीच गत असोजमा पुनः श्रम सम्झौता भएको छ ।

सोही आधारमा नेपालले कामदार पठाउन गरि प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक दहालले बताए । ‘श्रम सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा ५ सय कामदार रोजगारीका लागि इजरायल जाँदै छन् । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालिम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिन्छ,’ उनले भने, ‘श्रम सम्झौताअनुसार सरकारी तवरबाट नेपाली श्रमिक रोजगारीका लागि इजरायल जानेछन् । विगतमा जस्तै प्रक्रिया हो । सरकारले पठाउने हो । इजरायल रोजगारीमा जानका लागि तालिम, इजरायली भाषा र अंग्रेजीसमेत जानेको हुनुपर्छ ।’

नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवासुविधा र संरक्षणसमेत पाउने उनको भनाइ छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले सन् २०२१ देखि श्रम सम्झौतामा उल्लेख भएअनुसार कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताउँदै आएका छन् ।

इजरायल सरकारले नेपाली कामदारलाई रोजगारीको अवसर दिइरहेको र तत्काल नेपालबाट नर्सिङ होमसँग केयर गिभरमा कामदार लैजाने उनको भनाइ छ । सन् २०१५ मा सरकारी स्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रूपमा श्रम सम्झौता गरेको थियो । तर, श्रम सम्झौता भएको ३ वर्षको अवधिमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्