७ जेष्ठ २०८१, सोमबार

 

नेपाली सेनाका अधिकृतलाई बेलायतमा अन्तर्राष्ट्रिय सम्मान

नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तर्राष्ट्रिय स्तरको सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापाले यस्तो सम्मान पाएका हुन् । उनी नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका रूपमा कार्यरत थिए ।

बेलायतको स्यान्डहस्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तर्राष्ट्रिय ‘तरबार’ पुरस्कार प्रदान गरेको हो । हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालिममा अग्रस्थानमा आउनेलाई यो पुरस्कार दिइन्छ ।

उक्त तालिममा पहिलो स्थानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन् ।नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेन्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालिममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए ।

उक्त सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालिम दिने प्रशिक्षकका रूपमा समेत योग्य भएका छन् । उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्