
दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द हुने भएको छ । कोभिड–१९ का कारण आम्दानीभन्दा खर्च बढी भएको भन्दै व्यवस्थापनले होटल बन्द गर्न लागेको हो ।
होटेलमा कार्यरत ३६० जनालाई आफुले पाउने तलब, सुविधा लिएर जान भनेको होटल सञ्चालक सिर्जना राणाले बताइन् ।उनका अनुसार होटलमा ४० वर्षदेखि काम गरेका कर्मचारी समेत कर्मचारी छन् । होटल ५५ वर्ष पुरानो भएको र नयाँ होटेलहरूले जस्तो खर्च गरेर बस्न सक्ने अवस्था नभएकोले बन्द गर्न लागेको उनको भनाइ छ ।
‘होटेलमा मासिक १ लाख रूपैयाँसम्म तलब खाने कर्मचारी छन्, व्यापार छैन’, उनले भनिन, ‘कोभिडका कारण सन् २०२१ सम्म कोही पनि पर्यटक आउन सक्ने अवस्था देखिएन । अहिलेसम्म कर्मचारीलाई खुवाइयो र आफुले पनि खाइयो तर अब खान र खुवाउन सक्ने अवस्था भएन ।’
अहिलेसम्म कर्मचारीलाई दिनुपर्ने सेवा, सुविधा दिन सक्ने भएपनि आगामी दिनमा दिन नसक्ने अवस्था आएकोले यस्तो निर्णय गर्नु परेको राणाको भनाई छ । अब सन् २०२१ सम्मै होटेल खोल्न सकिने अवस्था नभएकोले होटल बन्द गरेर नयाँ के काम गर्ने भन्ने विषयमा आफूले योजना बनाउन लागेको उनको भनाई छ ।