भारतमा अबको एक महिनामा कोभिड खोपको प्रयोग सुरु गर्ने गरी तयारी थालिएको छ । खोपको परीक्षण र उत्पादन अन्तिम चरणमा प्रवेश गरेको र एक महिनाभित्र प्रयोग सुरु गरिने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका हुन् ।
कोरोना खोपमा नेपालले पनि आफ्नो प्रारम्भिक आवश्यकता भारतबाटै पूर्ति गराउने पहल भइरहेको दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बीबीसीलाई बताएका छन् । नेपालले खोप हासिल गर्ने पहलका क्रममा दिल्लीस्थित दूतावासले त्यहाँका खोप निर्माता तथा सरकारी अधिकारीहरूसँग थालेको संवाद आसलाग्दो रहेको उनको भनाइ छ ।
पश्चिमी देशहरूमा कोरोना भाइरसविरुद्ध बनेका खोपहरूको प्रयोग हुन थालिसकेको बेला नेपालमा त्यसको आपूर्ति कहिले र कताबाट होला भन्ने जिज्ञासा बढिरहेको छ । यसै मेसोमा यही साता भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटका वरिष्ठ अधिकारी तथा भारतका नीति आयोगका प्रमुखसँग राजदूत नीलाम्बर आचार्यले कुराकानी गरेका थिए ।
यूकेको अक्सफर्ड युनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप सेरम इन्स्टिच्युटले बनाउँदै छ । उक्त खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ । ‘सेरम इन्स्टिच्युटको क्षमता निकै ठूलो छ । नेपालको आवश्यकता पनि उसले सम्बोधन गर्न सक्छ,’ उनले भने ।
यही सन्दर्भमा सेरम इन्स्टिच्युटसँग पनि वार्ता भइरहेको आचार्यले बताए । ‘सेरमका अतिरिक्त निर्देशक प्रकाश सिंह सोमवार दूतावासमा आउनुभएको थियो । उहाँसँगको वार्ता आशादायी रह्यो,’ उनले भने । गत महिना नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव हर्ष शृंगलाले नेपालको खोप आवश्यकता भारतको प्राथमिकतामा रहने बताएका थिए ।
बिहीबार राजदूत आचार्यले भारतको नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तसँग कोभिडविरुद्धको खोपको उत्पादन तथा उपलब्धताबारे कुराकानी गरेका थिए । कान्तले पनि भारतको खोप सहयोगमा नेपाल प्राथमिकतामा पर्ने बताएको दूतावासले उल्लेख गरेको छ ।
राजदूत आचार्यका अनुसार नेपालले सुरुमा आफ्नो जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी खोप आपूर्ति गर्न खोजिरहेको छ जसमा अग्रमोर्चामा रहेर काम गर्ने तीन प्रतिशतलाई पहिलो चरणमा अनि जोखिम समूहमा रहेकाहरू १७ प्रतिशतलाई दोस्रो चरणमा खोप दिन खोजिएको छ ।
‘यो भनेको करिब ६० लाख मानिस वा १ करोड २० लाख मात्राको खोप हुन आउँछ । हामीले के आशा गरेका छौँ भने हाम्रो सुरुका यी आवश्यकता भारतबाटै सम्बोधन हुन सक्छ,’ उनले भने । नेपालका लागि विशेषतः भारतमा बनेका खोप सस्तो पर्ने अनि आपूर्ति सजिलो हुने विज्ञहरू बताउँछन् । ‘वास्तवमा कोभिड खोपका निम्ति नेपालले पर जानैपर्दैन ।
अक्सफर्ड युनिभर्सिटी (एस्ट्राजेनेकाको खोप भारतकै सेरम इन्स्टिच्युटमा बन्दै छ । त्यसको मूल्य पनि दुई डोजको १,५०० रुपैयाँ हाराहारीमा आउँछ,’ सेन्टर फर मलेक्युलर डायनामिक्सका अनुसन्धान निर्देशक डा. समीरमणि दीक्षितले भने ।
‘यो खोपलाई हामीसँग अहिले नै उपलब्ध सामान्य कोल्ड चेनमा पनि भण्डारण गर्न सकिन्छ,’ उनले भने । दीक्षितले नेपालको निम्ति भारतसहित चीनमा उत्पादन हुने खोपहरू पनि लाभदायी हुन सक्ने बताए ।
भारतको हैदराबादस्थित कम्पनी भारत बायोटेकले इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा बनाइरहेको कोभ्याक्सिन नामक अर्को खोपको पनि तेस्रो चरणको क्लिनिकल परीक्षण जारी छ । यसले पनि भारतीय सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ ।
साथै क्याडिला हेल्थकेअरले बनाइरहेको जाइकोभ–डी नामक खोपको पनि तेस्रो चरणमा परीक्षण भइरहेको छ । रुसी खोप स्पुत्निक (फाइभ)को परीक्षण भारतमा पनि भइरहेको छ । तीबाहेक अन्य केही खोपको परीक्षण जारी नै छ ।























































































































































































