४ जेष्ठ २०८१, शुक्रबार

 

नयाँ विश्वका सम्पादक राजभण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कार

बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको वाणिज्य आर्थिक पत्रकारिता पुरस्कार नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ ।

राजभण्डारीलाई ११ हजार १ सय ११ रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो ।संघले २ लाख २२ हजार २ सय २२ रुपैयाँको अक्षकोष स्थापना गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई पत्रकारलाई यस वर्षबाट पुरस्कृत गर्ने भएको हो ।

पूर्वप्रधानन्यायाशीश कल्याण श्रेष्ठले राजस्व संकलनमा सार्वजनिकभन्दा निजी क्षेत्रको योगदान धेरै रहेको बताएका छन् । राजस्वमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै उनले उद्योग स्थापनामा सरकारले सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

बागलुङ उद्योग वाणिज्य संघको ५७औं साधारणसभामा शनिबार उनले कृषिक्षेत्र निर्वाहमुखी बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै आधुनिक कृषिको अवधारणा लागू गर्नुपर्ने भनाइ राखे । श्रेष्ठले निजी क्षेत्रको हक–अधिकारका विषयमा गम्भीर रहन सरकारलाई आग्रह गरे ।

‘देश रेमिट्यान्सले चलेको छ । यसलाई बचत तथा उपभोक्तावादी अर्थतन्त्रमा खर्च गर्नुपर्छ,’ उनले भने, ‘भएन भने देशमा अझै आर्थिक संकट बढ्छ ।’

वर्तमान अवस्थामा व्यापारको राजनीतीकरण र राजनीतीलाई व्यापारीकरण गर्दा देशमा लगानीको वातावरण नदेखिएको श्रेष्ठले बताए ।

‘निजी क्षेत्रले सिर्जनशील क्षमता बढाउनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा देशमा राजनीतिक अस्थिरता भए पनि उत्पादनशील क्षेत्रमा असर पर्दैन ।’ श्रेष्ठले कुनै बेला कर्णालीपछिको जिल्ला भनेर बागलुङलाई चिनिने अवस्था भए पनि अहिले विकसित बागलुङको चिनारी बनाएको भन्दै खुसी व्यक्त गरे ।

साधारणसभामा अधिकांश वक्ताले व्यवसायीको हकहित र नव–उद्यमीलाई प्रोत्साहित गर्न उद्योग वाणिज्य महासंघले सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।

उद्योग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिप कोइराला, संघका पूर्वअध्यक्ष धु्रवराज सापकोटा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जैमिनि नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, जसपाका नेता चित्र सापकोटा, महासंघका केन्द्रीय सदस्य अमृत भट्ट, संघका पूर्वअध्यक्ष श्याम श्रेष्ठ, वसन्त श्रेष्ठ, नेपाल पत्रकार महासंघ शाखा बागलुङका अध्यक्ष दिल शिरीष, बागलुङ उद्योग वाणिज्य महिला उद्यम विकास संघकी अध्यक्ष भगवती केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा उद्यमीहरू पवनकुमार श्रेष्ठ, यमप्रसाद कँडेल, डिलप्रसाद कँडेल, अगनबहादुर खड्का र प्रताप कँडेललाई सम्मानसमेत गरिएको थियो ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले अध्यक्षता गरेको साधारणसभा सचिव नरेश कँडेलले सञ्चालन तथा उपाध्यक्ष उमाकान्त शर्मा बाबुले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्