
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउने भएको छ ।
खोप एयर इन्डियाको उडानमार्फत् बिहान पौने ११ बजे काठमाडौं आइपुग्ने छ । मुम्बईबाट दिल्ली बाट नेपालका लागि जहाज उडिसकेको बताइएको छ ।
भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराउन लागेको हो।सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ।
स्वास्थ्य सचिव लक्षण अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए। उनले खोप लगाउनका लागि नामावलीको अनलाइन इन्ट्री भइरहेको जानकारी दिँदै खोप लगाउने व्यक्तिको कार्ड बनाइने जानकारी दिए।
उनले भने, ‘हामी खोप लगाउनका लागि काउन्सिलिङ्ग गर्ने, खोप अभियानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालिम दिने, खोप ढुवानी गर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्ने छ । माघ भित्रै खोप अभियान सुभारम्भ गर्ने तयारीमा लागेका छौँ ।’
सरकारले कुन दिनबाट खोप अभियान सुरु गर्ने र पहिलो खोप लगाएको कति समय पछि दोस्रो खोप लगाउने भन्ने निर्णय गर्न बाँकी छ। स्वास्थ्य सचिव अर्यालले खोप प्राविधिक सल्लाहकार समितिले पहिलो डोज लगाएको कति समयमा दोस्रो डोज लगाउने भन्ने निर्णय गर्ने बताए।