४ जेष्ठ २०८१, शुक्रबार

 

प्राइम बैंकका सीईओको तलब सुविधा वार्षिक १ करोड ८५ लाख

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको छ । बैंकले गत पुस २९ गतेको साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार उनको तलब सुविधा १ करोड ८५ लाख रुपैयाँ पुगेको उल्लेख छ ।

अघिल्लो वर्ष उनले १ करोड ९ लाख रुपैयाँ बुझेका थिए । यसपालि बुझेको तलब–सुविधामा नाफाबाट पाउने बोनस जोडिएको छैन। योसमेत जोड्दा उनले वर्षभरिमा सवा दुई करोड रुपैयाँभन्दा बढी बुझेका छन् ।

उनी बैंक स्थापनादेखि प्रमुख कार्यकारी छन् । एउटै बैंकमा लामो समयदेखि प्रमुख कार्यकारी हुने अहिले मानन्धर मात्र हुन् ।   उनलाई राष्ट्र बैंकले उमेर हद लगाएर हटाउन खोजेको थियो । तर अदालतबाट मुद्दा लडेर उनी फेरि बैंक फर्किएका हुन् । उनी राष्ट्र बैंकसँग सम्बन्धित कार्यक्रमहरूमा भने जान छाडेका छन् ।

मानन्धरले यो वर्ष तलब मात्र ९६ लाख ९० हजार रुपैयाँ र भत्ता ६४ लाख ६० हजार रुपैयाँ बुझेका छन् । उनले दसैं भत्ता १४ लाख रुपैयाँका साथै सञ्चय कोष सुविधा ९ लाख ६९ हजार लिएका छन् ।

यसबाहेक गाडी, मोबाइल र इन्धनको सुविधा छ । बैंकले गत वर्ष कुल कर्मचारी खर्च १ अर्ब ९ करोड रुपैयाँ गरेको थियो । सञ्चालन खर्च ५३ करोड २५ लाख रुपैयाँ थियो । बैंकको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्