
सरकारले कारोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज बुधबारबाट लगाउन शुरु गर्दैछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री कपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
गत साता भारत सरकारले अनुदानमा प्रदान गरेको १० लाख कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सफाइकर्मीले लगाउन पाउनेछन् ।
स्वास्थ्य मन्त्रालयले यी क्षेत्रका कार्यरतहरुको लागि एप्स निर्माण गरेर इच्छुकहरुको तर्फबाट प्रस्ताव समेत आह्वान गरेको थियो । सोमबार बेलुकासम्म १ लाख ४० लाखले इच्छा देखाएका छन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको खोप शाखा प्रमुख झलक शर्मा गौतमका अनुसार १४ गतेदेखि माघ २८ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम सम्पन्न गर्ने लक्ष्य छ ।
आइतबार करिब ५ लाख डोज खोप सातै प्रदेशका मुकाममा पठाइएको छ । पश्चिमको लागि नेपालगञ्जमा भण्डारण गरी कर्णाली र सुदूरपश्चिमका जिल्लामा वितरण गरिने छ । त्यस्तै बुटवल, हेटौडा, विराटनगर र पोखरामा पठाएको छ भने सो केन्द्रले मातहतका जिल्लामा खोप वितरण गर्ने कार्ययोजना अन्तर्गत सातै प्रदेशमा खोप पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।