२ जेष्ठ २०८२, शुक्रबार

 

पेट्रोलियम चोरी–निकासी रोक्न सीमाक्षेत्रका पम्पमा कडाइ गरिने

नेपालबाट अवैधरूपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी–निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

निगमले बिहीबार इन्धनको अपचलन रोक्न अपनाउनुपर्ने सावधानी र कार्ययोजना स्वीकृत गरेको थियो । केही दिनअघि निगमको एक ढुवानीकर्ताले ट्यांकरको चेम्बर र इन्धन ट्यांकमा १ हजार ३६० लिटर डिजेल भारततर्फ चोरी–निकासी गरी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएसँगै सीमा क्षेत्रबाट इन्धन तस्करी हुँदै आएको अनुमान गरिएको छ । हाल भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोलमा प्रतिलिटर ३५.२९ र डिजेलमा प्रतिलिटर ४१।४३ रूपैयाँले नेपालतर्फ सस्तो रहेको छ ।

कार्ययोजनाअनुसार प्रादेशिक कार्यालयहरूले दैनिक न्यूनतम पाँचवटा सीमा नाका क्षेत्रका पेट्रोल पम्पहरूको निरीक्षण गरी आवश्यक विवरण लिनुपर्नेछ । यसरी निरीक्षण गर्दा निगमका कार्यालयले आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमा नाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्पहरू, हुलाकी राजमार्गमा अवस्थित पेट्रोल पम्पहरू तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोल पम्पको बिक्री अनुगमन गर्नुपर्नेछ ।

उक्त क्षेत्रभित्रका बिक्रेताले आफ्नो औसत दैनिक माग महिनाको सुरुमै निगमलाई उपलब्ध गराउनुपर्नेछ । ती बिक्रेताले खुद्रा एवं थोक बिक्रीको परिमाण घोषणा गर्नुपर्ने तथा उक्त विवरण ‘डिस्पेन्सिङ मिटर’ तथा थोक खरिदकर्ताको बिलबीजकबाट पुष्टि हुनुपर्ने निगमले जनाएको छ ।

डिपोहरूले पम्पको भण्डारण क्षमताभन्दा बढीको तेल एक पटकमा बिक्री गर्न नपाउने, भण्डारण क्षमताभन्दा बढी एकपटकमा बिक्री गर्नुपरे केन्द्रको अनुमति लिनुपर्ने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

यसै गरी सीमा क्षेत्रका पेट्रोल पम्पले ड्रम, जर्किन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्री वितरण गर्न पाउनेछैनन् । पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेसिन सञ्चालन गर्ने प्रयोजनका लागि जर्किनमा बिक्री वितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लागि आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लगत राखी बिक्री गर्नुपर्नेछ । बिक्रेताले उपभोक्ताको इन्धन खरिद विवरण अद्यावधिक राख्नुपर्नेछ ।

सीमा नाकाका पेट्रोल पम्पलाई मासिक अघिल्लो वर्ष निगमबाट उठाएको परिमाणमा १० प्रतिशत थप गरी मासिक परिमाण उपलब्ध गराउन सकिने निगमले जनाएको छ । यसै गरी गाडीको इन्धन ट्यांकमा मात्र इन्धन भर्न पाउने, भारतीय ठूला सवारी साधनलाई इन्धन ट्यांकमा बढीमा १०० लिटर मात्र इन्धन दिने कार्ययोजनामा उल्लेख छ ।

नेपाल र भारतको मूल्य अन्तरले चोरी निकासी, तस्करी हुन सक्ने भएकाले भारततर्फ जाने ट्यांकर, ट्रक, टेलर, ट्य्राक्टरलगायत सवारी साधनको सीमानामा जाँच गर्न स्थानीय प्रहरीसँग अनुरोध गरी जाँच गर्ने व्यवस्था मिलाउने, कुनै बिक्रेताले निगमले दिएको निर्देशन पालना नगरे बिक्रेता नियमावलीअनुसार कारबाही हुने पनि निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung