लोकेन्द्र श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुख भएर आएको १६० दिनमै उनको सरुवा भएको छ । एसपी श्रेष्ठ आएपछि स्थानीयले जिल्लाको शान्तिसुरक्षामा राम्रो काम भएको महसुस गरिरहँदा उनको सरुवा भएको हो ।
जुवातास, लागुपदार्थ, घरेलु मदिरा उत्पादन एवं हातहतियार नियन्त्रणमा श्रेष्ठको भूमिका प्रभावकारी देखिएको चर्चा हुँदै आएको थियो । गृह मन्त्रालयले उनको सरुवा गरिदिएपछि यस्ता क्रियाकलाप फेरि बढ्ने चिन्ता स्थानीयमा छ ।
श्रेष्ठ आएपछि जिल्लामा जनशक्ति थोरै रहे पनि त्यसको सही प्रयोग गरी अपराध न्यूनीकरण गर्ने अभियानमा प्रहरीको सक्रियता बढेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
प्रहरी प्रशासनको सकारात्मक भूमिकाका कारण बागलुङमा होटल व्यवसाय गर्न सहज वातावरण बनेको होटल व्यवसायी एन्जिल शाक्यको भनाइ छ ।
सामुदायिक सेवा केन्द्रकी अध्यक्ष लीलादेवी खड्का पनि प्रहरीको सक्रियताले घरेलु हिंसा, लागुपदार्थ, जुवातास, घरेलु मदिराजस्ता विकृति धेरै नियन्त्रणमा आएको बताउँछिन् ।
एसपी श्रेष्ठ आएपछि १३८ फरार अपराधी पक्राउ गरी ६१ लाख ७ हजारभन्दा बढी जरिवाना असुल गरेको प्रहरीको तथ्यांक छ । यस्तै अवैध हातहतियार १३३ थान, मदिरा २ हजार ९ सय ५५ लिटर, कच्चा पदार्थ ९ हजार ६ सय ७५, लागुऔषध १ सय ५० केजी र ३२ हजार १ सय ७० गाँजाको बोट नष्ट गरिएको छ ।













































































































































































































