१ जेष्ठ २०८२, बिहीबार

 

भारतमा संक्रमण बढेसँगै नेपाल पनि जोखिममा

भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको छ । त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै सीमा क्षेत्रमा सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल–भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। भारतका महाराष्ट्र, गुजरात, मध्यप्रदेश आदि राज्यमा संक्रमण बढेको छ। रोजगारीका लागि भारतमा ठूलो संख्यामा नेपालीहरू बसोबास गर्ने र नजिकिएको फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूको भनाइ छ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैतमा गरिएको लकडाउनयता नेपाल भारत सीमाक्षेत्रमा यात्रु बोकेका सवारीसाधनको आवतजावत बन्द छ। यद्यपि अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेको बताइन्छ।झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनलाई खुला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेका छन्।

पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको कुल संख्या २,७५,६२५ पुगेको छ। बिहीबार एकै दिन नेपालमा थप १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सरकारी तथ्यांक छ। तीमध्ये काठमाडौंमा ४४, ललितपुरमा आठ अनि भक्तपुरमा सात जनामा संक्रमण पुष्टि भएको हो। तर केही महिनादेखि परीक्षण घटेकाले संक्रमितको संख्या पनि घटेको देखिएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

केही समयदेखि नेपालमा पनि क्रमिक रूपमा संक्रमण बढ्न थालेको संकेत देखा परेको भए पनि अहिले नै त्यसो भनिहाल्न मिल्ने अवस्था नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले बताए । अहिले उक्त अस्पतालमा कोरोना भाइरस संक्रमण भएका तीन जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइराखेको उनले जानकारी दिए। ‘जुन हिसाबले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडिएको छ, संक्रमण फैलिन सक्छ भन्ने सम्भावनाका विषयमा दुई मत रहेन । तर अहिलेसम्मको अवस्था स्थिर देखिन्छ,’ उनले भने।

केही दिनदेखि सीमा–नाकालक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘भारतका कुनै सहरमा रात्रिकालीन कर्फ्यु र नागपुरजस्तो सहरमा लकडाउन नै कार्यान्वयन हुँदा कामको सिलसिलामा रहेका नेपालीहरू बस्न गाह्रो भएर नेपाल फर्केर आउनुहुन्छ कि भन्ने हिसाबले हामी सचेत छौँ। त्यहाँ जति कडाइ गरिँदै जान्छ नेपाल फर्केर आउने क्रम बढ्न सक्छ। त्यसैले प्रवेशबिन्दुहरूमा रहेका हेल्थ डेस्कहरूलाई थप सचेत बनाउने र जिम्मेवारी थप्न लागेका छौँ।’

खास गरी लक्षणसहितका बिरामी आएको खण्डमा उनीहरूको एन्टिजन परीक्षण गर्ने र उनीहरू प्रवेश गरेपछि विदेशबाट नेपाल आएकाहरूले पालना गर्नुपर्ने क्वारन्टिनका नियमहरू कडा रूपमा पालना गराउन सम्बन्धित पालिकाहरूको सहयोग लिने नीति आफूहरूले लिन लागेको उनले जानकारी दिए।

अधिकारीहरूका अनुसार नेपालमा रक्सौल, जोगबनीजस्ता नाका हुँदै धेरैजसो मालसामान आयात गर्ने गरिन्छ। कञ्चनपुरका गड्डाचौकी र गौरीफन्टा, रूपेडिया, जमुनाहा, कृष्णनगर र काँकडभिट्टाजस्ता नाकाबाट धेरै मानिस आउने हुँदा हेल्थ डेस्क राखिएको अधिकारीहरू बताउँछन्। ‘त्यहाँ लक्षण भएका वा कोभिडको लक्षण भएको बिरामीसँग मेरो सम्पर्क थियो भन्ने सूचना दिए त्यहीँनै एन्टिजन परीक्षण गर्ने गरी तयारी गरेका छौँ। त्यसो गर्दा हामीले बैलैमा पत्ता लगाउन सक्छौँ भन्ने हाम्रो अपेक्षा हो,’ पौडेलले भने। भारतमा कोरोना भाइरसको नयाँ प्रकार देखापरेको पुष्टि भइनसकेको भारतीय अधिकारीहरूको दाबी छ।

नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको अवस्थामा भने नेपाल प्रवेश गर्न चाहने व्यक्तिले १० दिन नै क्वारन्टिन बस्नुपर्ने हुन सक्ने नेपाली पक्षको धारणा छ। त्यसबाहेक होम क्वारन्टिनको नियम पनि कडाइका साथ लागू गर्ने तयारी गरिने बताइएको छ। व्यवस्थित क्वारन्टिन निर्माण केन्द्रदेखि स्थानीय तहको जिम्मेवारी रहेको पौडेल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung