
आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनको गठबन्धन हुने भएको छ । निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठनबीच गठबन्धन गर्ने निर्णय भएको हो ।
शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका उपाध्यक्ष सइन्द्र राईले जानकारी दिए । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।
स्रोतका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन, उपाध्यक्षमा प्रेस चौतारी, महासचिवमा प्रेस संगठन नेपालले लिने प्रारम्भिक सहमति भएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत ११ संगठनको साझा विज्ञप्तिमा जनाइएको छ । गठबन्धनमा प्रेस युनियनका अतिरिक्त प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् ।