६ जेष्ठ २०८१, आईतवार

 

प्रभु बैंकले ९ महिनामा २ अर्ब १० करोड खुद नाफा कमायो

प्रभु बैंकले ९ महिनाको अवधिमा २ अर्ब १० करोड ९६ लाख खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको ४४ प्रतिशत नाफा बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले ६४ करोड ५४ लाख रुपैयाँ खुदनाफा बढाएको छ ।

पुरानो कर्जा असुलीले बैंकको खुद नाफा बढ्न पुगेको हो । बैंकले गरेको सो नाफाबाट सेयरधनीहरुलाई १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ वितरण गर्न सक्ने सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी ३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ४६ करोड २० लाख रुपैयाँ निष्क्रिय कर्जा असूल गरेको छ । बैंकको निष्क्रिय कर्जा घटेर १।४८ प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो कर्जा २।९५ प्रतिशत थियो ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप लागत ४.९६, सीसीडी ७४.४२, आधारदर ७ र स्प्रेडदर घटेर ३.५० कायम भएको छ ।

बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्